काठमाडौँ। लुम्बिनी प्रदेशलाई ३-१ को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश पुरुष टिम प्रथम सहाना प्रधान यू-१९ महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार गण्डकीले लुम्बिनीलाई फाइनल खेलमा २५-१५,२०-२५, २५-२० र २५-२० ले पराजित गरेको हो। महिलातर्फको शनिबार नै भएको फाइनल खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ३-० को सेटले पराजित गर्दै उपाधि जितेको छ।
प्रतियोगिताको महिला र पुरुष दुबैतर्फका बिजेताले ३ लाख, उपबिजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउनेछन्।
जेनिशा र विश्वास सर्वोत्कृष्ट
प्रतियोगितामा महिलातर्फ बागमती प्रदेशकी जेनिशा विश्वकर्मा र पुरुषतर्फ गण्डकी प्रदेशका विश्वास अधिकारी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। दुवै सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार, ट्रफी र मेडल प्राप्त गरे।
महिलातर्फ उत्कृष्ट लिबेरो बागमती प्रदेशकी लिबेरो अन्जिला प्रधान र पुरुषतर्फ गण्डकी प्रदेशका जीतबहादुर सार्कीले जिते। दुवैले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।
उत्कृष्ट सेटरमा महिलातर्फ बागमतीकै भावना तामाङ र पुरुषतर्फ लुम्बिनी प्रदेशका दिपेश कुँवरले जिते । दुवैले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।
उत्कृष्ट सर्भर महिलातर्फ गण्डकी प्रदेशकी सोइङ थापाले जितिन् । पुरुषतर्फ भने गण्डकी प्रदेशका सूर्य बिकले जिते । दुवै खेलाडीले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।
उत्कृष्ट स्पाइकर महिलातर्फ बागमतीकी सलिना बुढा मगर र पुरुषतर्फ लुम्बिनी प्रदेशका सागर रसौलीले जिते । यो विधामा पनि दुवैले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे । उत्कृष्ट ब्लकर महिलातर्फ लुम्बिनी प्रदेशकी निशा चौधरी भइन् भने पुरुषतर्फ सुदूरपश्चिम प्रदेशका अर्जुन नेपालीले जिते । दुवैले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।
शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ सुदूरपश्चिम प्रदेशले बागमतीलाई हराएको हो । महिलातर्फ गण्डकी प्रदेशले कोशी प्रदेशलाई हराउँदै तेस्रो भयो । गण्डकीले १ लाख पुरस्कार र मेडल प्राप्त गर्यो ।
साभार: अनलाइनखबर