काठमाण्डौ,जेठ १५
गणतन्त्र दिवसको अवसरमा नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता एवम पुर्व प्रधानमन्त्री झलनाथ खनालले शुभकामना दिनुभएको छ ।
खनालले विज्ञप्ती जारी गर्दै २०६२-०६३ मा नेपाली जनताले गरेको शान्तिपूर्ण जनक्रान्तिले सदियौं देखिको सामन्ती, निंरकुश तथा एकात्मक राजतन्त्रात्मक प्रणालीको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्नुभएको छ ।
नेता खनालले नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन जनक्रान्तिकै बलबाट समावेशी लोकतन्त्र, समाजवाद उन्मुख संविधान र सामाजिक न्यायका उपलब्धिहरु हासिल गरेको उल्लेख गर्नुभएको छ । विज्ञप्तीमा लेखिएको छ ‘ जनक्रान्तिकै म्याण्डेट बमोजिम हामीले संविधान सभाको निर्वाचन गर्यो । संविधान निर्माण गरे पश्चात संविधान कार्यान्वयन गर्ने सन्दर्भमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन ग¥यौँ । भर्खरै मात्र पनि हामीले दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्यो। यी हामीले हासिल गरेका महत्वपूर्ण संरचनागत उपलब्धिहरु हुन् ।’
विज्ञप्तीमा थप लेखिएको छ ‘तर विडम्बना, यी उपलब्धिहरूलाई संस्थागत गर्दै मुलुकको सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणलाई तीब्र बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गनुपर्ने ठाउँमा स्वयम् संविधान र गणतन्त्रलाई नै समाप्त गर्ने गरी २०७७ पुस ५ र २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी मुलुकलाई प्रतिगमन तर्फ धकेल्ने प्रयत्न गरियो ।
उक्त कदम मार्फत सिङ्गो कम्युनिष्ट आन्दोलनलाई विभाजन र विसर्जनतर्फ धकेल्न खोजियो । तर पनि हामीले संयुक्त बामलोकतान्त्रिक आन्दोलनबाट उक्त प्रतिगमनको कदमलाई परास्त गर्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न सफल भएका छौँ र यतिबेला मुलुक पुनः संविधानले मार्गप्रशस्त गरेको बाटोमा अग्रसर हुन थालेको छ । ’
उहाँले सम्पुर्ण देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरुलाई राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न, राष्ट्रियताका पक्षमा सिङ्गो देशलाई एकताबद्व बनाउन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गर्न र सामाजिक–आर्थिक विकास र रुपान्तरणलाई तीब्र बनाउँदै वैज्ञानिक समाजवादको बाटोमा दृढतापूर्बक अगाडि बढ्न आहवान समेत गर्नुभएको छ ।