काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले दशौं राष्ट्रिय महाधिवेशनका लागि बुधबार एकै दिन देशभरबाट प्रतिनिधि छनोट गरेको छ । यहि असार १६ देखि २० गतेसम्म काठमाडौंमा गर्नलागेको दशौं महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट प्रतिनिधि छानिएको पार्टीले जनाएको छ ।
पार्टीले दिएको जानकारी अनुसार बिभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दे महाधिवेशनका लागि १८४९ जना प्रतिनिधि छानिने छन् । पार्टीले छनौट भएको प्रतिनिधि संख्यामा ५ प्रतिशत मनोनयन गर्ने व्यवस्था छ । बुधबार भएको प्रतिनिधि छनौटमा अधिकांश स्थानमा सर्वसम्मत भएको र केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनौट भएको छन् । पार्टीले यस अगाडी केन्द्रीय नेताहरु पनि प्रतिनिधि चुनियर आउन पर्ने भनि गरेको निर्णय उल्ट्याएर केन्द्रीय नेताहरु आयोजक भएकाले स्वतः प्रतिनिधि हुने व्यवस्था गरेको छ ।
एकीकृत समाजवादीले एमालेसँग गरेको बिद्रोह पछि यो पहिलो महाधिवेशन भए पनि एमालेकै निरन्तरता भएको भन्दै दशैं महाधिवेशन गर्न लागेको जनाएको छ । राष्ट्रिय महाधिवेशनमा १८४९ जना प्रतिनिधि रहने भएका छन् । त्यसमध्ये महिला ४२५ र दलित १५० सहित भूगोलका संघीय निर्वाचन क्षेत्रबाट ११५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्रबाट २३, प्रदेश सम्पर्क कमिटी क्षेत्रबाट २२, भारत प्रवास क्षेत्रबाट ८, अन्य प्रवास क्षेत्रबाट १५ जना महाधिवेशन प्रतिनिधि रहनेछन् ।
त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद्बाट ५, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चबाट ५, विभिन्न महासंघहरूबाट ८५, जनसंगठनहरूबाट ५६ जना प्रतिनिधि रहने पार्टीले जनाएको छ । त्यस्तै, केन्द्रीय कमिटीबाट ३४६, केन्द्रीय आयोगहरूबाट १०४, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ र मजदुर विशेष आरक्षणबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् ।