काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ईद पर्वले राष्ट्रिय एकता कायम गर्नमा भूमिका खेलेको बताउनु भएको छ।
सोमबार इस्लाम धर्मावलम्बीहरुको दोस्रो महान पर्व ईद-उल-अजहा (बकर ईद) को अवसरमा शुभकामना दिदै नेता खनालले उक्त कुरा बताउनु भएको हो।
सम्मानित नेता खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘इस्लाम धर्मावलम्बीहरुको दोस्रो महान पर्व ईद-उल-अजहा (बकर ईद) को अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायका दाजुभाईहरु तथा दिदीबहिनीहरुमा राष्ट्रिय एकता, सुस्वास्थ, दिर्घायु एंव उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
बकर ईद पर्वलाई इस्लाम धर्मावलम्बीहरुले सामुहिक रुपमा भेला भई प्राथना गर्दै मेलमिलापका साथ खुशी साट्दै हर्सोल्लासका साथ मनाउने गर्छन्। यस पर्वले इस्लाम धर्मावलम्बीहरु माझ आपसमा मित्रता, भातृत्व र एकता बढाउँछ। वास्तवमा यो पर्वले पनि विविधतामा आधारित नेपाली राष्ट्रिय एकता, आस्थागत सहिष्णुतालाई प्रवर्धन गर्न ठूलो मदत गर्दछ।
अन्तमाः यस महान् पर्वका अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाईहरुमा फेरि पनि सु—स्वास्थ्य र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, प्रगति, समाजवाद र समृद्धिको बाटोमा दृढता पूर्वक अघि बढ्न म हार्दिक आह्वान गर्दछु। साथै नेपाल लगायत विश्व समुदायबाट हज कार्य सम्पन्न गर्न साउदीको मिना अरफातमा रहेर हज कार्य सम्पन्न गर्नुभएकोमा हज यात्रीहरु सम्पूर्णमा म पुनःहार्दिक शुभकामना व्यक्त गर्दछु।’