काठमाडौं,जेठ १३
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलप्रति देखिएको जनताको वितृष्णाले नै स्वतन्त्र उम्मेदवारको जित भएको बताउनु भएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्दै अध्क्ष नेपालले , ‘विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवार जित्नु भएको छ ।
आफूलाई विश्वास गरेका मानिसलाई जिताएका छन् । चाहे काठमाडौंमा बालेन हुन् वा धरानमा हर्क उहाँहरुले मेहनतले सफलता प्राप्त गर्नुभएको छ, जनताको समस्यालाई ठीक हिसाबले बुझ्ने काम गरेकाले मत पाउनु भएको हो राजनीतिक पार्टीहरुप्रति जनतामा रहेको आलोचनात्मक वितृष्णा जुन देखिएको छ यसमा आत्मचिन्तन गर्नुपर्छ ।’
नेता नेपालले भ्रष्टाचारका कारणले जनता आक्रान्त भएको भन्दै यसको विषयमा गम्भीर रुपले ध्यान दिर्नैपर्ने बताउनु भयो । ‘जसले बदमासी गरेको छ त्यसलाई दण्डित गरौं । दीर्घकालीन सोच र अल्पकालीन सोच राख्नुपर्यो ।’
देशलाई ठूलठूला टावरहरु होइन, मुलुकलाई रोजगारी र उत्पादनका आवश्यकता रहेको भन्दै नेपालले यसतर्फ कसरी विकास गर्न सकिन्छ सो सोच्नुपर्ने बताउनु भयो । महत्वाकांक्षी ठूलठूला आयोजना परियोजनामाथि समेत प्रश्न गर्दै नेपालले वर्षौवर्ष लगानी र मेहनत लाग्ने तर उपलब्धी आउने यस्तो आयोजनाहरुमा समेत पुनर्विचार गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष नेपालले लामो समयको अध्ययनपश्चात् निजगढमा विमानस्थल निर्माण सुरु भएको भन्दै त्यसरी रोकिनु गलत भएको बताउनु भएको छ । विमानस्थल निर्माणमा अर्बौं रुपैयाँ खर्च भइसकेको र जग्गासमेत अधीग्रहण भइसकेको अवस्थामा काम रोकिनु दुखद् भएको उहाँको भनाई थियो ।
‘धेरै लामो समयसम्म छलफल गरेपछि १९९५ देखि यो प्रक्रिया अगाडि बढेको हो । १० वटा स्थानको गहिरो अध्ययनपछि सबैभन्दा उपयुक्त निजगढ हो भन्ने कुरालाई लिएर विमानस्थलको निम्ति आवश्यक ८ हजार हेक्टर जमिन व्यवस्थापन र वन विनाश नगरी विमानस्थल बनाउने कुरा भइसकेपछि अहिले फेरि रोकिएको कुरा सुनिन्छ, यो मास्टरप्लान तयार भइसकेको स्थितिमा झन्डै ३ अर्ब रुपैयाँ नागरिक उड्ययन प्राधिकरणले खर्च गरिसकेको अवस्थामा, जग्गाहरु अधिग्रहण गरिसकेको अवस्थामा, अझै त्यसैको लागि नै २ खर्ब रुपैयाँको फास्टट्रयाक त्यति खर्च भइसकेको स्थितिमा, फास्टट्रयाक त्यही कामको निम्ति बनाउने अवस्थामा अहिलेको निम्ति जम्मा १९ सय हेक्टरभित्र ४ हजार मिटरको रनवे बनाएर त्यसलाई काम अगाडि बढाउन सकिने अवस्थामा रोकिएको कुरा सुन्नमा आयो । बडो दुःख लाग्यो मलाई,’ अध्यध्क्ष नेपालले भन्नुभयो ।
विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामा पुनर्विचार हुनुपर्ने, सरकार र राजनीतिक दलहरुले पनि यस विषयलाई गम्भीरताका साथ लिनुपर्ने उहाँको तर्क थियो ।