मकवानपुर। बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १७औं गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो।
प्रमुख शर्माले गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्दाञ्जलीसमेत अर्पण गर्दै बेपत्ता, घाईते तथा अपाङ्ग योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दछु भन्नुभएको छ।
‘सार्वभौमसत्ता पूर्ण रूपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने उत्कृष्ट प्रणाली शुभारम्भ भएको यो ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हरेक वर्ष आजका दिन हामीले यो दिवस मनाउँदै आएका छौं।’
प्रमुख शर्माको भनाई छ,‘जनताका प्रतिनिधीमार्फत निर्मित हाम्रो सविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि व्यवस्था, संघीय शासन प्रणाली, धर्मनिरपेक्षता, समावेशी(समानुपातिक प्रणाली,सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको दिशामा अगाडी बढ्न मार्गप्रशस्त गरेको छ।’
यो हाम्रो देश नेपाल र हामी सम्पूर्ण नेपालीका लागि अत्यन्त सुखद् र गौरवको विषय भएको प्रमुख शर्माले उल्लेख गर्नुभएको छ। प्रमुखले आफ्नो सन्देशमा हामीले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै आर्थिक,सामाजिक र सांस्कृतिक रुपान्तरणसहितको सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माण हुनेमा विश्वस्त रहेको बताउनुभएको छ।
यस्तै, प्रमुख शर्माले संवैधानिक रूपमा हामीले पाएका हकअधिकारहरुको प्रभावकारी कार्यान्वयन गर्दै राष्ट्र निर्माणको महाअभियानमा लामबद्द हुन यो दिवसले हामी सबैलाई अभिप्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।