सबै जीवन र मृत्युको प्रभाव एउटै हुँदैन । मानिसको कर्म, योगदान र प्रभावले त्यसको स्थान खडा गरिदिएको हुन्छ । कसैको जीवन र मृत्युले परिवारमा मात्र अर्थ राख्दछ भने कसैको मृत्युले देश, समाज र मानव जातिसँग पनि अर्थ राख्दछ । जुन जीवन र मृत्युले व्यापक क्षेत्रलाई प्रभावित पार्दछ, त्यस्तो जीवन र मृत्युको स्थान अरूभन्दा उच्च हुने गर्दछ । मानव भएर जन्मेपछि मर्नुपर्ने स्वाभाविक प्रक्रिया हो तर, कहिलेकाहीँ यो अस्वभाविक रूपमा पनि आउँदो रहेछ । यही कुरा कमरेड पशुपतिको निधनमा मैले अनुभुव गरेँ । कमरेड पशुपति चौलागाईं ६४ वर्षको उमेरमा अकल्पनीय रूपमा बित्नुभयो । २०७८ सालको सुरूवातमै कोभिडको महामारीले उहाँलाई हामीबाट खोसेर लग्यो । पार्टी र आन्दोलनमा वहाँको सहभागिता, समर्पण, त्याग र इमानदारिताले नेपाली समाजमा वहाँको जीवन र मृत्युले ठूलो प्रभाव छोडेको छ ।
वहाँ कलिलै उमेरमा कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो । दोलखामा ०३५/०३६ सालमा भएको पञ्चायतविरूद्धको आन्दोलनमा ९ कक्षामा अध्ययनरत रहेकै बेला नाम्दुको आन्दोलनको वहाँले नेतृत्व गर्नुभयो । ०३६ सालमा वहाँ स्वतन्त्र विद्यार्थी युनियनको निवार्चन जितेर सभापति चयन हुनुभयो । त्यतिवेलै वहाँ अनेरास्ववियुको जिल्ला स्तरीय नेता भइसक्नुभएको थियो । २०३५ सालमा नेकपा (माले) गठन भएपछि पार्टी संगठन निर्माणका लागि ०३५ मै वहाँसहित तीन जनाको जिल्ला स्तरीय कार्यदल बनाइएको थियो । २०३६/२०३७ सालमा वहाँले किसान, महिला, विद्यार्थी र मजदुरको सम्पर्क कमिटी बनाएर पार्टी काम अघि बढाउनुभयो । दोलखामा वहाँको गाउँ काभ्रेलाई पार्टीको आधारक्षेत्र बनाइएको थियो । त्यहाँबाटै जिल्ला स्तरीय पार्टी गतिविधि तथा वैठकहरु संचालन हुने गर्दथे । ०३८ सालमा अमृत बोहोरा र पशुपती चौलागाईंसहितको जिल्ला स्तरीय सम्पर्क कमिटी गठन भएपछि दोलखामा पार्टी गतिविधि तीव्र हुन थाल्यो । त्यतिबेला कमरेड ध्रुवको नामले पार्टीमा परिचित पशुपति चौलागाईंले पार्टीको जिम्मेवारीसँगै केही समय शिक्षण पेशा पनि गर्नुभयो । पछि वहाँले सानोठिमी क्याम्पसमा अध्ययन सुरू गर्नुभयो । वहाँ उक्त क्याम्पसको स्ववियू सभापतिसमेत हुनुभयो र अनेरास्ववियूको केन्द्रीय कमिटीमा पनि निर्वाचित हुनुभयो । २०४६ पछि वहाँले जिल्ला पार्टीको नेतृत्व सम्हाल्नुभयो । २०५४ मा पार्टी विभाजन भएपछि वहाँले युवा संघको नेतृत्व गर्नुभयो । त्यसपछि वहाँ पार्टी अञ्चलको सचिव तथा केन्द्रीय कमिटीमा पनि रहनुभयो । कम्युनिष्ट पार्टी सम्बद्ध विश्व युवा तथा विद्यार्थी संगठनको नेताका रूपमा समेत वहाँले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्नुभएको थियो ।
बुटवलमा सम्पन्न पार्टीको आठौं महाधिवेशनबाट वहाँ केन्द्रीय कमिटीको सदस्य बन्नुभयो । वि.स.२०७१ म काठमाडौँमा भएको नवौं महाधिवेशनबाट पुनःकेन्द्रीय सदस्य, बागमती प्रदेशको इन्चार्ज, पार्टी पोलिटब्यूरो सदस्य बन्नुभयो । वहाँ जनताको बीचमा पनि निकै लोकप्रिय हुनुहुन्थ्यो । दोलखामा निष्ठावान् तथा इमान्दार नेता भनेर चिनिने वहाँ जनताको मनमनमा बस्नुभएको थियो । वहाँ २०५६ सालमा भएको संसदीय निर्वाचनमा दोलखा क्षेत्र नं. १ बाट अत्यधिक मत प्राप्तगरी विजयी हुनुभयो । वहाँ २०७० मा पनि संघीय सांसद हुनुभयो । २०७४ वहाँ प्रदेश सभामा निर्वाचित हुनुभयो ।
कमरेड पशुपति चौलागाईंले सिङ्गो जीवन कम्युनिष्ट आन्दोलन र समाज परिवर्तनका लागि खर्च गर्नुभयो । वहाँले जनताको अपार माया पाउनुभयो । वहाँ विकासप्रेमी हुनुहुन्थ्यो । जिल्लाको विकासका लागि अहोरात्र खट्नुहुन्थ्यो । वहाँको योजनाअनुसार जिल्लामा कयौं परियोजना पूरा भएका छन् भने कतिपय हुने क्रममा छन् । जस्तोसुकै दुःख कष्टमा पनि वहाँ चुनौतिसँग जुधिरहनुहुन्थ्यो र आम जनतासँग घनिष्ट सम्बन्ध कायम गर्न प्रयत्नशील हुनुहुन्थ्यो । वहाँ सधैंभरी जनतामाझ रही जनहितमा काम गरिरहने जनप्रिय नेता हुनुहुन्थ्यो । पार्टीभित्र उत्पन्न हुने जटिलताहरू तथा अन्तरसंर्घषका क्रममा वहाँ जहिल्यै अग्रगमनको पक्षमा उभिनुभयो । यसलाई हामी सधैसँगै रह्यौं भनेर भन्न पनि सकिन्छ।
२०७५ सालमा ठूला कम्युनिष्ट पार्टीहरूबीच एकीकरण भएर संसदमा झण्डै दुई तिहाइको बहुमत प्राप्त गरी सरकार गठन भएपछि नेपाली कम्युनिष्ट आन्दोलन सही दिशामा अघि बढ्ने विश्वास वहाँमा थियो । तर, आमजनताको चाहना विपरित २०७७ पुसमा संसद विघठन गरिएपछि वहाँ त्यसको विरूद्धमा उत्रिनुभयो । प्रतिगमनको विरूद्धमा लाग्नुभयो । प्रतिगमन र अग्रगमनबीच संघर्ष चल्दै गर्दा, पार्टीको आन्तरिक जीवनमा समस्याहरू चुलिएकै जटिल परिस्थितीमा कमरेड पशुपतिको अवसान भयो । वहाँको अवसानबाट मैले एक अत्यन्त भरोसायोग्य सहयोद्धा गुमाएँ । वहाँको अवसानले नेपाली कम्युनिष्ट आन्दोलन र समाजवादी आन्दोलनमा ठूलो क्षती भएको छ ।
निधनपछि कसैको सम्झना गर्नु भनेको उसले जीवनमा गरेका राम्रा कामहरुको सम्झना गरी त्यसबाट अग्रगामी प्रेरणा प्राप्तगर्नु हो । जीवनभर जनताको मुक्ति कार्यमा लागिरहनु र जनसेवा गर्दागर्दै आफ्नो जीवन गुमाउनु कमरेड पशुपतिका लागि गौरवपूर्ण कुरा हुनसक्छ । तर, हामी सबैका लागि यो अत्यन्तै पीडाको समय हुनपुग्यो । नेपाली समाजलाई सबै प्रकारको शोषण, अन्याय र अत्याचारबाट मुक्तगरी समाजवादको उच्चलक्ष्यमा पु¥याउने वहाँको जुन सपना थियो ती सुन्दर सपनालाई साकार पार्ने प्रण हामीले गर्नुपर्दछ । आजको नयाँ पुस्ताले वहाँको लामो र कठिन राजनीतिक जीवनको गहिरो अध्ययन गर्दै असल काम, योगदान र कृतिहरूबाट प्रेरणा लिनुपर्दछ । कमरेड पशुपति चौलागाईंले समाजका लागि जे जति लगानी र योगदान गरेर जानुभएको छ, कम्युनिष्ट आन्दोलनले त्यसको सदैव स्मरण गर्दै उच्चसम्मान गर्नेछ । वहाँले आफूलाई जनता, क्रान्ति र पार्टीका पक्षमा जसरी समर्पित गर्नुभयो, म अन्तरहृदयदेखि नै वहाँप्रति उच्चसम्मान र गौरव गर्दछु ।