काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को १०औं राष्ट्रिय महाधिवेशन आर्थिक परिचालन कमिटीको बैठक सम्पन्न भएको छ।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको १०औं महाधिवेशन सफल पार्नका निम्ति सहयोग गर्न पार्टी पंक्ति तथा शुभेच्छुकहरूलाई अनुरोध गर्नु भएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी उपाध्यक्ष तथा महाधिवेशन आर्थिक परिचालन कमिटीका संयोजक प्रमेश हमालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।
बैठकमा अध्यक्ष नेपालले आगामी (असार १६-२० मा तोकिएको) पार्टीको १०औं राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने स्पष्ट पार्नुभयो। अध्यक्ष नेपालले आर्थिक सहयोगका निम्ति क्यूआरकोर्डकोसमेत उद्घाटन गर्नुभएको छ। क्यूआरकोर्डको उद्घाटन गर्दै सिंगो पार्टी पंक्तिलाई आफूले सक्नेजति आर्थिक सहयोग गर्न अध्यक्ष नेपालले अपिल गर्नुभयो।
अध्यक्ष नेपालले भन्नुभयो, ‘पार्टीको १०औं महाधिवेशन भव्यताका साथ सम्पन्न गर्नका निम्ति हामीलाई आर्थिक सहयोगको खाँचो छ। उक्त महाधिवेशन सम्पन्न गर्नका निम्ति आफूले सकेको सहयोग गर्न म सबैलाई अनुरोध गर्दछु। अहिले त आधुनिक जमना छ। क्यूआरकोर्डमार्फत पैसा पठाउन मिल्छ। हामीले आज पार्टीको खाता रहेको क्युआरकोर्ड सार्वजनिक गरेका छौं। यसैमा सहयोग गर्न सक्नु हुनेछ।’
महाधिवेशन तोकिएकै मितिमा हुन्छ
अध्यक्ष नेपालले आगामी महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने बताउनु भएको छ। उहाँले भन्नुभयो, ‘हामीले दुई पटक महाधिवेशन सारिसकेका छौं। यसबारेमा तपाईँलाई जानकारी छ, विभिन्न कार्यक्रममा व्यस्त भयौं। मुलुकको राजनीतिक तरल बन्यो। विभिन्न कारण बाधक बने। अब तोकिएको समयमै हुन्छ। सामान्य कारणले महाधिवेशन सदैन। त्यसपहिले पार्टीको स्थायी कमिटी र पोलिटब्युरोले कमिटीको बैठक सम्पन्न गर्नुपर्नेछ। दस्तावेज निर्माणको काम सकिएको छ। त्यसैको प्रकाश र तलसम्म दस्तावेज पठाउनुपर्छ।’
उहाँले अगाडि भन्नुभयो,‘हाम्रो पार्टीको राजनीतिक दस्तावेजमा कुनै खास दललाई प्रधान सत्रु किटान गरिने छैन। राजनीतिक अन्तर्विरोधको सन्दर्भमा कुनै पार्टी विशेषलाई हामीले अहिले सत्रु घोषणा गरेर जान आवश्यक छैन। त्यस्तै जनताको बहुदलीय जनवादबारे नकारात्मक टिप्पणी गर्न आवश्यक छैन। नेपाली विशेषताको समाजवादमा पनिजबजका मान्यताले काम गर्छ।’ अध्यक्ष नेपालले पार्टीको क्यूआरकोर्ड उद्घाटन गर्दै उहाँले २५ हजार जम्मा गर्नुभएको छ।