एमालेको समर्थनमा तेस्रोपटक प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को औचित्य समाप्त भएको छ । नेपाली कांग्रेससँग सहकार्य तोड्दा प्रचण्डले वाम गठबन्धन भनेका थिए । त्यतिबेला सबैले आगामी निर्वाचनसम्म वाम गठबन्धन टिक्छ भन्ने सोचेका थिए ।तर, एमाले सरकारमा सहभागी भएको दुई महिना बित्दा नबित्दै ओलीले वाम गठबन्धनको औचित्य समाप्त भएको घोषणा गर्दै एमालेलाई एकल बहुमतमा पुर्याउने दाबी गरे । वाम मोर्चालाई होच्याउने काम गरे । इलाम र बझाङको उपनिर्वाचनमा गठबन्धन दलहरुबीच नै मतभेद सुरु भयो । यसको मतलब यो गठबन्धनको सरकार धेरै दिन टिक्दैन भन्ने संकेत हो ।
ओली प्रचण्डसँग कति रुष्ट छन् भन्ने कुरा गोदावरीमा सम्पन्न एमालेको राष्ट्रिय परिषद् बैठकबाटै उजागर भयो । अध्यक्ष ओलीले पुरानो घाउ कोट्याउदै आफ्नो प्रतिवेदनमै ‘एकता महाधिवेशनसम्म सहमतिका साथ पार्टी चलाउने समझदारीलाई साविकको नेकपा (एमाले) भित्र खेलेर कथित बहुमतको दाबी गर्ने, समूहबन्दीका आधारमा भागबण्डा खोज्ने, अलग बैठक/भेला गर्ने, आफ्नै सरकारका विरुद्धमा खडा हुने, पार्टीभित्र निरन्तर बिग्रह खडा गरिरहने जस्ता क्रियाकलापले एकतालाई अघि बढ्न दिएन’ भनेका छन् । त्यसैगरी आफू नेतृत्वमा नदोहोरिने घोषणा गर्दा पनि उल्टै आफूलाई नै पार्टीबाट निष्काशन गर्नेजस्ता एकताविरोधी र हास्याँस्पद निर्णयका कारण नेकपाको एकता भाँडिएको निष्कर्ष ओलीको छ ।
राष्ट्रिय परिषद् बैठकमा ओलीको प्रतिवेदन पढ्ने जो कोहीले पनि कांग्रेससँगको गठबन्धन भत्काउनका लागि मात्रै एमाले प्रचण्डको सरकारमा सहभागी भएको बुझ्न कठिन छैन । ओलीको दाउ यो सरकार ढालेर मध्यावधिमा जाने कुरामा केन्द्रित छ । ०७९ मा कांग्रेससँग गठबन्धन गर्दा माओवादी र एकीकृत समाजवादीले केही सिट जितेको भए पनि अब कांग्रेस र एमाले अलग अलग निर्वाचनमा होमिँदा माओवादी र समाजवादीको पत्तासाफ हुन्छ भन्ने उनको बुझाई छ । त्यसका लागि एकीकृत समाजवादीका केही सांसदलाई एमालेबाटै टिकट दिएर एकीकृत समाजवादीलाई समाप्त पारेरै छाड्ने ओलीको भित्री रणनीति छ ।
वास्तवमा, पुस ५ गते संसद् विघटन नगरेको भए आजका दिनसम्म कम्युनिष्ट पार्टी धेरै बलियो भइसक्ने थियो । तर, संसद् विघटनको घटनाले एमाले र माओवादी अलग मात्र भएन, एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी पनि जन्मियो । यसबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई कति घाटा पर्याे, त्यसको लेखाजोखा ओलीको प्रतिवेदनमा छैन । ‘किन रोइस मंगले आफ्नो ढंगले’ भनेझैँ एमाले, माओवादी एकता टुक्रनु र माधव नेपालले विद्रोह गरेको कुरालाई ओली गौरवको विषय ठानेका छन् ।
कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन देशी–विदेशी शक्ति लागेको कुरा पनि ओलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘सर्पको खुट्टा सर्पले देख्छ’ भनेझैं पुस ५ गतेको प्रतिगमन निम्त्याउन कुन विदेशी शक्ति लागेको थियो भन्ने कुरा ओलीबाहेक अरुले बुझेका छैनन् । किनभने, कात्तिक अन्तिम साता विशेष विमान चढेर जो बालुवाटार पुगेको थियो, उसैको उक्साहटमा संसद् विघटन गरियो । विघटनपछि आफ्नो हालत के हुन्छ भन्ने कुरा ओलीले बुझ्न सकेनन् । किनभने, ओलीलाई सत्ताच्युत गर्न र माओवादीसँगको एकता भाँड्न ओलीनिकट नेताहरु लागेका थिए, जो विदेशी एजेन्ट थिए ।
यी सबै कुराहरुलाई लुकाएर ओलीले प्रतिवेदनमा जे जस्ता कुरा उल्लेख गरेका छन्, त्यो हात्तीको देखाउने दाँत मात्र हो । यो संविधानमाथि कसैबाट खतरा छ भने त्यो एमालेबाटै छ । त्यसको पुष्टि दुई–दुईपटक रवि लामिछानेलाई गृहमन्त्री बनाउने र प्रतिगामीसँग चुनावमा सहकार्य गर्ने पनि ओली नै हुन् ।
यस अर्थमा वाम–लोकतान्त्रिक गठबन्धनको औचित्य अझै समाप्त भएको छैन, अरु बढेर गएको छ । प्रायः सबै दलको तयारी मिसन ८४ मा केन्द्रित छ । त्यसको परिणाम पनि कांग्रेस र एमाले नै पहिलो र दोस्रो शक्ति बन्नेछन् । सरकार बनाउन फेरि पनि अंक गणितकै खेल हुने भएकोले संविधानको रक्षाका लागि वाम–लोकतान्त्रिक शक्तिको खाँचो पर्दछ।
नेपालको राजनीतिक इतिहासमा वाम–लोकतान्त्रिक शक्ति मिल्दा जुन सफलता हासिल भएको छ, फुट्दा त्यो गुमेको पनि इतिहास छ । ०४६ को आन्दोलन सफल भएपछि ०४८ सालको निर्वाचनमा वाम–लोकतान्त्रिक शक्ति मिल्नुपर्ने प्रस्ताव जननेता मदन भण्डारीले गरेका थिए । त्यो कुरालाई स्मरण गर्दै अगाडि बढ्न सकिएन भने न त संविधान कार्यान्वयन हुन्छ, न त संविधान नै जोगिन्छ ।
वाम एकताको औचित्य समाप्त भयो भन्नुको अर्थ संविधान नै समाप्त पार्ने खेल हो भन्ने कुरा बुझ्न ढिलो गर्नुहुन्न । किनभने, ओलीले दुई दुई पटक विघटन गरेको संसद सर्वोच्च अदालतले पुनस्र्थापना नगरेको भए त्यही जगमा प्रतिगमन जन्मिने थियो । त्यसको नेतृत्व स्वयं ओलीले आजन्म गर्ने थिए । नेपाली कम्युनिष्ट आन्दोलनमा यस घटनालाई केशरजंग प्रवृत्ति भनिन्छ भने अन्तर्राष्ट्रियमा गोर्वाचोभ प्रवृत्ति । आखिर यी दुई नेता पनि कम्युनिष्ट नै थिए ।
(लेखक नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख हुनुहुन्छ।)