काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आगामी दशौं महाधिवेशनलाई सफल पार्न एकताबद्ध भएर अगाडि बढ्न अनुरोध गर्नुभएको छ।
आइतबार लेनिनको १५५औं जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट आन्दोलनको ७५औं वर्षको अवसरमा शुभकामना दिदै नेता खनालले उक्त आग्रह गर्नु भएको हो।
जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीले नेपालको कम्युनिष्ट आन्दोलन शुरु भएको ७५ वर्ष पार गरेका छौं। यस अवधिमा हामीले ०६२(०६३ को कान्ति सम्पन्न गरेका छौं। त्यसले पुँजीवादी जनवादी क्रान्तिको युगलाई पार गरेको छ। मुलुकमा पुँजीवादी बहुदलीय जनवाद अर्थात संसदीय लोकतन्त्र स्थापना भएको छ नयाँ संविधान बनेको छ। जनताले केहि महत्वपूर्ण अधिकारहरु प्राप्त गरेका छन । एउटा खुल्ला समाजको स्थापना भएको छ नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको छ।
तर, पुँजीवादी जनवादी क्रान्ति भएको पनि दुई दशक पुग्नै लाग्यो। यस अवधिमा जनता माथिका पुँजीवादी शोषण र उत्पीडनहरु झन् भयावह बन्दै गएका छन सैनिक, जातिय, भाषिक र सामाजिक विभेदहरू अझ गहिरो बन्दैछन। कृषि र उद्योग झन बढी गतिहिन बनेका छन । राष्ट्रिय उत्पादन बढ्न सकेको छैन। राष्ट्रिय अर्थतन्त्र झन् बढी पराधिन बन्दै गएको छ भ्रष्टाचार, अनियमितता र व्यथितिहरू विकराल बन्दै गएका छन । हरेक दिन हजारौ संख्यामा युवा जनशक्ति विदेशीने दुखद् अवस्था सृजना भएको छ । बेरोजगारी डरलाग्दो रुपमा बढिरहेको छ राष्ट्रियता माथिको खतरा झन् गहिरो बन्दैछ । पुँजीवादी वित्तिय शोषण फैलिंदो अवस्थामा छ दलाल पुँजीवाद हर क्षेत्रमा हावी हुँदै गइरहेको छ। त्यसैले समाजवादी क्रान्ति र रूपान्तरणको आवश्यकता झन् टट्कारो बन्दै गएको छ ।
त्यसरी नै आजको अन्तर्राष्ट्रिय परिस्थिति पनि उथलपुथलका बीचवाट विकसित भइरहेको छ। पश्चिमा साम्राज्यवादी शक्तिहरु आफ्नो विश्व प्रभुत्व कायम राख्न र विस्तार गर्न वुद्धको सिर्जना गरि रहेका छन । युक्रेन युद्ध, गाँजा युद्ध, मध्यपूर्व युद्ध, इजरायल, इरान युद्ध त्यहि प्रयत्नका परिणाम हुन । अर्कोतिर शान्तिका पक्षधर शक्तिहरू, तेस्रो विश्वका शक्तिहरू र समाजवादी शक्तिहरु विश्व शान्ति, विकास, स्थिरता र समृद्धिका निम्ति न्यायपूर्ण नयाँ विश्व व्यवस्था स्थापना गर्न दृढ प्रयत्न गरिरहेका छन। ठीक यस्तो अवस्थामा हाम्रो पार्टी दशी राष्ट्रिय महाअधिवेशनको पूर्व घडीमा आइपुगेको छ हामीहरु यहि असार १६( २०,२००१ मा हाम्रो पार्टीको दशौं राष्ट्रिय महाअधिवेशन काठमाडौंमा आयोजना गर्न गइरहेका छौं। यो नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा ऐतिहासिक महाअधिवेशन हुनेवाला छ । हाम्रो पार्टीले यस महाअधिवेशनमा विधान संगठनात्मक प्रस्ताव र नियमित राजनीतिक प्रतिवेदनका साथ साथै नेपालको समाजवादी क्रान्तिको कार्यक्रम नेपाली विशेषताको समाजवादको कार्यक्रम पहिलो पटक प्रस्तुत गर्दैछ । यो महाअधिवेशनले विगत ७५ वर्षका अनुभव माथि आधारित भएर वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै हाम्रो देशको समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, रणनीति, कार्यनीति, क्रान्तिको बाटो, नेपाली समाजका आधारभूत र प्रधान अन्तर्विरोधहरूको विश्लेषण र क्रान्तिको वर्तमान अवस्थाको प्रमुख प्रतिद्वन्दी शक्ति आदि कुराको निर्धारण गर्नेछ।
यसरी महाअधिवेशनले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ धरातलमा उठाउने छ, सिंगो पार्टी र आन्दोलनलाई समाजवाद प्राप्तिको दिशातिर ठोस रूपले दिशानिर्देश गर्नेछ, यतिबेला हावी भइरहेको दक्षिणपन्थी यथास्थितिवादबाट पार्टी र आन्दोलनलाई मुक्त पार्नेछ, पार्टीलाई क्रान्तिकारी वैचारिक-राजनीतिक कार्यदिशा तिर निर्देशित गर्नेछ, दक्षिणपन्थी औसरवादका विभिन्न प्रकारका भ्रमहरुबाट मुक्त पार्नेछ, क्रान्तिकारी कार्यदिशाका आधारमा पार्टी निर्माणलाई गति दिनेछ, पार्टीका वरिपरि रहेका सबै जनसंगठनहरूको निर्माण, विकास र विस्तारलाई तीव्रता प्रदान गर्नेछ, क्रान्तिकारी कार्यशैलीका आधारमा पार्टी पंक्तिको परिचालन गर्नेछ, दक्षिणपन्थी र यथास्थितिवादी विचार-प्रवृत्तिहरुका विरुद्ध वैचारिक संघर्षलाई तीव्र र व्यापक पार्नेछ र नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन, रुपान्तरण र वैचारिक उन्नयनको दिशामा अघि बढाउनेछ र सहि वैचारिक-राजनीतिक कार्यदिशाका आधारमा नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै एउटा शक्तिशाली पार्टी निर्माण गर्ने दिशामा अघि बढाउनेछ ।
त्यसैकारण पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक र सुभेच्छुक कमरेडहरू !
पार्टीले गरेका निर्णय र निर्देशन अनुरूप यो दशौं राष्ट्रिय महाअधिवेशनको तयारीमा सकृय रूपले सहभागी बनौँ । सम्पूर्ण पार्टी सदस्यहरूको लेखा तयार गरौं, सबै पार्टी कमिटीहरू र सदस्यहरूलाई सकृय र कृयाशील बनाऔँ । केन्द्रले पठाउने दस्तावेजहरूको गहन अध्ययन गरौं, तिनीहरूलाई आफ्नो अमूल्य सुझावहरुबाट परिस्कृत बनाऔँ, योजना अनुसार योग्य र सक्षम प्रतिनिधिहरु छनोट गरौं र हाम्रो दशौं राष्ट्रिय महाअधिवेशनलाई ऐतिहासिक रुपले सफल बनाऔँ । यो नै हाम्रो आन्दोलनको हिरक जयन्तिको सन्दर्भमा हाम्रो सिंगो पार्टीले गर्ने संकल्प हो, यो नै हामी सबैको भीष्म प्रतिज्ञा हो । कमरेडहरु ! हामीसँग समय थोरै छ तर गर्नुपर्ने कामहरु धेरै छन् । आउनुहोस ! हामीहरू महाअधिवेशन मार्फत पार्टीलाई नयाँ वैचारिक-राजनीतिक धरातलमा उठाऔँ, सहि कार्यदिशाका आधारमा पार्टीलाई वैचारिक र संगठनात्मक रुपले रुपान्तरण गरौं र नेपाली विशेषता अनुरुपको समाजवाद निर्माण गर्ने यात्रामा एकताबद्ध भएर अघि बढौं ।'