काठमाडौँ। एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि शनिबार भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ।
साविकको विजेता नेपाल एसीसी प्रिमियर कपको उपाधि रक्षा गर्दै एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ ओमान पुगेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र तयारीले प्रिमियर कप जितेर एसिया कप खेल्ने प्रमुख दाबेदार थियो।
तर, एसिया कप मात्रै होइन, शनिबार तेस्रो स्थानका लागि हङकङसँग भएको खेलमा ४ विकेटले पराजित भएपछि इमर्जिङ कपसमेत गुमाएको छ। समूह चरणमा औसत प्रदर्शन गरेको नेपालले सेमिफाइनलमा यूएई र तेस्रो स्थानका लागि हङकङसँग भएको खेलमा आफ्नो स्तर अनुसार खेल्न सकेन।
समूह चरणमा नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेबियालाई ६ विकेटले हराएको थियो। सेमिफाइनलमा नेपालको भेट यूएईसँग भयो। पछिल्लो एक वर्षमा भएका अधिकांश भेटमा नेपालले यूएईलाई हराएको थियो। तर शुक्रबार यूएईले ६ विकेटले हराउँदै फेरि एसिया कप खेल्ने नेपालको सपना चकनाचुर पारिदियो।
त्यसपछि हङकङलाई हराएर नेपालले इमर्जिङ कपमा स्थान बनाउन चाहेको थियो। तर, त्यही हङकङसँग नेपाल ४ विकेटले पराजित भयो। दुई निर्णायक खेलमा पहिला ब्याटिङ गरेको नेपालले युएईविरुद्ध ११९ र हङकङविरुद्ध १३९ रन बनायो।
समूह चरणमा औसत ब्याटिङ
समूह चरणको पहिलो खेलमा नेपालले मलेसियाले दिएको १४४ रनको लक्ष्य १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । कतारविरुद्ध दीपेन्द्र सिंह ऐरीले अन्तिम ओभरमा ६ छक्का हानेपछि २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।
तेस्रो खेलमा हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा पूरा गरेको थियो । वर्षाले प्रभावित चौथो खेलमा ८ ओभरको खेलमा साउदीले दिएको ७५ रनको लक्ष्य ४ बल अगाडि भेट्टाएको थियो ।
नेपालले पछिल्लो एक–डेढ वर्ष जति पनि राम्रो नजिता हात पारेको थियो, त्यसमा ब्याटिङ सबभन्दा बलियो पक्ष थियो । तर प्रिमियर कपमा व्याटिङ चलेन । यसले विदेशी भूमिमा नेपालको ब्याटिङ कमजोरी कायमै रहेको देखायो, जुन आसन्न टी–२० विश्वकपका लागि समेत चिन्ताको विषय बनेको छ ।
नेपालले आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप खेल्दैछ । विश्वकप खेल्ने उत्कृष्ट १५ खेलाडी छनोट गर्न मुख्य प्रशिक्षक मोन्टी देशाईले हरेकजसो सिरिजमा आफ्ना खेलाडीहरुको परीक्षण गरेका थिए ।
हङकङ त्रिकोणात्मक सिरिज, नेपाल, नामिविया र नेदरल्यान्ड्सको त्रिकोणात्मक सिरिज र भारतमा फ्रेन्डसिप कपमा सम्भावना बोकेका खेलाडीहरुलाई उनले अवसर दिए । बलिङ र ब्याटिङ क्रममा पनि तलमाथि गरिरहे । त्यसकै आधारमा प्रिमियर कपमा नेपालले १४ सदस्यीय टोली उतारेको थियो ।
नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेलको जोडीले साउदी, युएई र हङकङसँगको खेलमा कुनैपनि रनको साझेदारी गर्न सकेनन् ।
मलेसियासँग ४७ बलमा ४९ रनको साझेदारी गरेका थिए । कतारविरुद्ध २.५ ओभरमा १८ तथा हङकङविरुद्ध समूह चरणमा ५.३ ओभरमा ७० रनको साझेदारी गरेका थिए ।
ओपनर कुशल भुर्तेल ६ खेलमा क्रमश ः २४, १२, ३२, ०, ०, ० थियो । आसिफ ३२, ५२, ४०, २, ८ र ५ थियो ।
सुरुवात राम्रो नहुँदा इनिङ सम्हाल्नुपर्ने मध्यक्रम पनि चल्न सकेन । समग्र प्रतियोगितामा दुई मात्रै अर्धशतक साझेदारी छन् । मलेसियाविरुद्ध ओपनिङ तथा कतारविरुद्ध कुशल मल्ल र आसिफ शेखले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए ।
युएईसँगको खेलमा सर्वाधिक ठूलो साझेदारी नै २७ रनको थियो । युएईविरुद्ध सन्दीप जोराले अर्धशतक बनाएपनि त्यो उनको व्यक्तिगत प्रदर्शन थियो । क्रिकेटमा टिमको प्रदर्शन सधैं चाहिन्छ ।
मध्यक्रमका ब्याटर सन्दीप जोराले कुल प्रतियोगितामा ९५ बल खेल्दा ११० रन बनाएका थिए । कप्तान रोहित पौडेलले ११३, कुशल मल्लले ६०, गुल्सन झाले ८२ रन मात्र बनाए ।
तल्लोक्रममा दीपेन्द्रले कतारविरुद्ध २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाउँदै राम्रो अन्त्य गरेका थिए । अन्तिम खेलमा हङकङविरुद्ध पनि ४४ रनको आक्रामक अन्त्य गरेका थिए । तर जित्नैपर्ने युएईविरुद्ध ५ रनमा आउट भएका थिए ।
प्रतियोगितामा सोमपाल कामीले १४ र करण केसीले २० रन बनाए । समग्रमा यस प्रतियोगितामा नेपाली ब्याटर नै चल्न सकेनन् ।
यूएईविरुद्धको सेमिफाइनलमा जुनैद र ओमैद रहमानको सुरुवाती गतिको स्पेलमा रन जोड्न ठूलो संघर्ष गरेको थियो । एसोसिएट बलरको औसत गति १३०/१३५ किलोमिटर प्रतिघण्टा हुन्छ ।
हङकङका आयुश शुक्ला र साउदीका ईश्ताक अहमदले लेन्थ बलमा शीर्षक्रमका ब्याटरलाई आउट गरेका थिए ।
युएई बाउन्सर बलमा पनि सफल भएको थियो । सर्ट बल समस्या सुधार गर्न नपाउदै लेन्थ बल अर्को समस्याको रुपमा देखियो । कुशल युएई र हङकङसँगको खेलमा गुड लेन्थको एकै किसिमको बलमा आउट भएका थिए ।
तर विश्वकपमा नेपालले दक्षिण अफ्रिकाका जेराल्ड कोट्जी र एनरिच नोर्कियाको १५५ माथिको गतिमा खेल्नुपर्ने हुन्छ । कागिसो रबाडा, नान्द्र बर्गर र लुंगी एनगिडीले नियमित १५० किलोमिटर प्रतिघण्टा गतिमा बलिङ गर्छन् ।
त्यति मात्रै होइन बंगलादेश र श्रीलंकाका बलरको गति पनि त्यति नै राम्रो छ । स्पिनरमा विश्वस्तरीय खेलाडी छन् ।
नेपाल रहेको समूहमा एसोसिएटको शीर्ष टोली नेदरल्यान्ड्स छ । उसले आफ्ना प्रमुख ५ खेलाडीबिनै खेल्दा पनि एक महिनाअघि नेपाललाई घरेलु मैदानमै हराएर त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जितेको थियो ।
‘नेपाली टोलीमा निरन्तर १४० गतिका बलर पनि छैनन् । १५० माथिको हुँदाबित्तिकै विपक्षी टप भइहाल्छ । हात र बलिङ मेसिनबाट खेल्नु फरक हुन्छ । हाम्रो लागि विश्वकप एउटा राम्रो अवसर पनि हो । नेपालमा पनि फरक पिचमा अभ्यास गर्नुपर्छ’, नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले विश्वकपको तयारीबारे भने ।
दक्षिण अफ्रिकाका क्वीन्टन डिक, राइलो रोसोऊ, एडेन माक्ररम, हेनरिक क्लासेन र डेविड मिलरजस्ता विश्वस्तरीय ब्याटरविरुद्ध राम्रो गर्न नेपाली टोलीलाई अहिलेको प्रदर्शन पर्र्याप्त हुँदैन ।
विश्वकपमा राम्रो गर्न कीर्तिपुर बाहिर प्रशिक्षण गर्न ज्ञानेन्द्र सुझाव दिन्छन् । ‘बाहिर अभ्यस्त हुन जरुरी छ । फरक पीच कन्डिसनमा खेल्नुपर्छ’, उनले भने ।
विश्वकपमा नेपालको लक्ष्य पनि कम्तीमा एउटा टेस्ट टोलीलाई हराउने हुनेछ । तर प्रिमियर कपको प्रदर्शनले विश्वकपमा ठूला टोलीविरुद्ध लज्जास्पद प्रदर्शन त गर्ने होइन भन्ने डर पनि बढाएको छ । किनकी नेपालले पछिल्ला खेलहरुमा युएई, ओमान, स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगै संघर्ष गरेको छ । युएई र हङकङ विश्वकपमा नभएका टोली हुन् ।
पछिल्लो एक वर्षमा नेपालले हात पारेका सबै सफलता घरेलु मैदानमा छन् । गतवर्ष एसीसी प्रिमियर कपको फाइनलमा नेपालले त्रिवि क्रिकेट मैदानमा नै यूएईलाई ७ विकेटले हराएर एसिया कपमा पहिलो पटक भारत र पाकिस्तानसँग खेलेको थियो ।
आईसीसी टी–२० विश्वकप छनोटमा मूलपानीमा यूएईलाई ८ विकेटले हराएर पुगेको थियो । नेपालले आईसीसी विश्वकप लिग–२ मा घरेलु मैदानमा खेलेका पछिल्लो ८ खेल जित्दै ओडीआई मान्यता जोगाएको थियो ।
नेपालले ओडीआईमा ओमानविरुद्ध बनाएको सर्वाधिक ३१० योगफल, २८६ रनको ठूलो लक्ष्य भेट्टाएको पनि त्रिवि मैदानमै थियो । नेपालबाट ओडीआईमा बनेका ८ मध्ये ७ शतक त्रिवि मैदानमा छ । ‘सबैभन्दा पहिला टीयु बाहिरको खेलहरु नियाल्नुपर्छ । टीयु बाहिर गएपछि हाम्रो स्तरको टोलीसँग कसरी खेलेका थियौं। ब्याटिङ त्यति राम्रो हुँदा पनि युएईविरुद्ध एउटा राम्रो साझेदारी गर्न सकेनौं’, ज्ञानेन्द्रले युएईसँग हारपछि भने ।
अघिल्लो महिना हङकङमा त्रिकोणात्मक सिरिजको फाइनलमा पपुवा न्युगिनीले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ८५ रनमा अल आउट भएको थियो । त्यो सिरिजमा दीपेन्द्र, आसिफ र सोमपाल भने थिएनन् ।
गतवर्ष आईसीसी एकदिवसीय विश्वकप जिम्बाब्बे र एसीसी इमर्जिङ टिम्स एसिया कपमा राम्रो थिएन । देश बाहिर नेपालले आफ्नो ब्राण्डको क्रिकेट नै खेल्न सकेको छैन । त्यसैले नेपाललाई केही समर्थकहरु घरको बाघ बनको स्याल पनि भन्छन् । पछिल्लो डेढ वर्षमा नेपालको बलियो पक्ष ब्याटिङ थियो । यस प्रतियोगितामा ब्याटिङ युनिटले राम्रो गर्न सकेन ।
यो समाचार अनलाइनखबरबाट साभार गरिएको हो।