काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले सहकारीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागलाइ ध्यान दिन सरकारलाई आग्रह गर्नु भएको छ।
बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर (एकीकृत समाजवादी) का उपाध्यक्षसमेत रहेका सांसद पाण्डेले यस्तो आग्रह गर्नु भएको हो। उहाँले भन्नुभयो, ‘संसदभित्र केही दिनदेखि प्रमुख प्रतिपक्षले सहकारीको ठगी प्रकरणका सम्बन्धमा छानबिनको माग लिएर संसदको बैठक अवरोध गरिरहेको छ। प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक बार्ता गरी संसदको यो गतिरोध अन्त्य गर्न म सभामुख मार्फत सरकारलाई ध्यानाकर्षण गारउन चाहन्छु।’
उहाँले भन्नुभयो, ‘प्रतिपक्ष दल कांग्रेससँग सार्थक वार्ता गरेर संसदलाई सुचारू गर्न सभामुखलाई अनुरोध गर्नु चाहान्छु। सहकारी र भ्रष्टचारको विषयललाई संसदमा जोडदार रूपमा आवाज उठेको छ। यसमा नेकपा (एकीकृत समाजवादी) तयार छ। फाइल खोल्नेमात्रै होइन, कारबाही गर्नेगरी छानविन समिति बनाएर अगाडि बढौं।’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गत फागुन २४ गतेदेखि सहकारीको रकम हिनामिनाबारे छानबिनको माग गर्दै आएको छ। सहकारीको रकम हिनामिनामा उपप्रधन तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको भनी कांग्रेसले प्रश्न उठाउँदै आएको छ। पछिल्लो समय कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै आएको छ।
त्यस्तै पाण्डेले जनताको सेवा हुने खालका कार्यक्रम रोकिएको बताउँदै सात दिनभित्र सरकारले जवाफ नदिए संसद अवरोध गर्ने चेतावनी दिनुभएको छ।
उहाँले भन्नुभयो, ‘२०८० साल जेठ १५ गते तत्कालिन अर्थमन्त्री डा.प्रकाशसरण महतले बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटको ४४५ बुँदामा ‘संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रम’ शीर्षकमा ८ अर्ब २५ करोड छुट्याउनु भएको थियो। तर, आजसम्म पनि त्यो कार्यक्रम लागु भएन किन? त्यो कार्यक्रम कहाँ गयो? ९ महिना बित्दापनि त्यो कार्यक्रम लागु भएन।’
चालुआर्थिक वर्षको बजेटबाट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, सेना, प्रहरी, शसस्त्र, निजामती कर्मचारीले तलव खाने तर, यहि बजेटले जनताको निम्ति व्यवस्था गरेको कुरा लागु किन भएन भन्दै सांसद पाण्डेले प्रश्न गर्नुभयो।