काठमाडौं,जेठ ८
हेटौँडा उपमहानगरपालिकामा निर्वाचित नगरप्रमुख मीना लामाले समृद्ध हेटौँडा बनाउने सपना अव पुरा गर्दै जाने बताउनुृ भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का तर्फबाट निर्वाचित मीना लामाले हेटौँडालाई समृद्ध बनाउने सङ्कल्प दोहोर्याउनु भएको हो ।
उहाँले निर्वाचन अघि आफ्नो नेतृत्वमा तयार गरेको प्रतिवध्दता र संकल्प अव पुरा गर्दै जाने बताउनु भएको हो । उपमहानगरपालिकाको नेतृत्वमा निर्वाचित भएसँगै उहाँले हेटौँडालाई महिला र बालमैत्री नगर बनाउने प्रतिबद्धता दोहोर्याउनु भएको हो । उहाँले आफू उपप्रमुख हुँदा आफूले गर्न नसकेको र गर्नैपर्ने काम अब क्रमशः पूरा गर्दै जाने विश्वास समेत ब्यक्त गर्नुभएको छ ।
नगरप्रमुख लामाले हेटौँडामा प्रसूति अस्पताल र ज्येष्ठ नागरिक अस्पताल बनाउने योजनासमेत आफ्नो रहेको दोहोर्याउनु भएको छ ।
महिलालाई सुरक्षित प्रसूति सेवा दिनका लागि प्रसूति अस्पताल र ज्येष्ठ नागरिकलाई छिटो–छरितो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने योजना पनि आगामी पाँच वर्षमा पूरा हुने उहाँको भनाइ छ ।
उहाँले आर्थिक केन्द्रका रूपमा विकसित हुँदै गएको हेटौँडा र त्यहाँका बासिन्दालाई सहज आर्थिक रूपले पनि सम्पन्न बनाउनका लागि विभिन्न कार्यक्रम ल्याएर युवालाई रोजगारी प्रदान गरिने बताउनुभयो ।
त्यसका साथै घोषणापत्रमा उल्लेख गरिए अनुसारको सबै काम गरिने र सुरुआती रूपमा विपन्न घरधुरीलाई ३०० युनिट बत्ती र १० हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने र यो सुविधा सबै घरधुरीमा पुर्याइने योजनालाई कार्यान्वयन गरेरै छाडिने जानकारी दिनुभयो ।
नगरप्रमुख लामाले हेटौँडामा महिला र बालबालिकामैत्री वातावरण बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भए पनि पूर्वाधार बनाउन नसकेको बताउँदै अब आफ्नो कार्यकालमा सो काम पूरा गरेरै छाड्ने दाबी गर्नुभयो ।
महिलामैत्री नगर बनाउनका लागि सेनिटरी प्याड भेन्डिङ मेसिन सहितको सार्वजनिक शौचालय बनाउने ,बजार क्षेत्रको विभिन्न स्थानमा स्तनपान कक्ष निर्माण गर्ने, हेटौँडामा महिला नगर परिषद् गठन गर्ने, दलित, बिपन्न, जनजाति तथा पिछडिएका महिलाका लागि सीपमूलक एवं आयआर्जनमुखी कार्यक्रम तय गर्ने, प्राविधिक शिक्षादेखि स्नातक शिक्षासम्म छोरी-बुहारीहरूलाई अनिवार्य अध्ययन गराउनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने, सेफहाउसका साथै महिला छात्रावास निर्माण गर्ने जस्ता योजनाहरु आफ्नो नेतृत्वमा गर्ने प्रतिवध्दता जनाउनु भयो । बालमैत्री नगरलाई बनाउने सपना अफू उपप्रमुख हुँदै देखेको भन्दै तयको लागि लागि पर्ने प्रतिवध्दता जनाउनु भयो ।
२०४६ बाट विद्यार्थी राजनीति सुरु गर्नुभएको लामाले हेटौँडाको त्रिभुवन मा.वि.बाट एसएलसी अध्ययनका साथै मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एमए गर्नुभएको हो । हरि खेतान बहुमुखी क्याम्पस वीरगञ्जबाट एलएलबीसम्मको अध्ययन गर्नुभएकी लामा मकवानपुरभरि नै लोकप्रिय महिला नेतृत्वका रूपमा स्थापित हुनुहुन्छ ।
पढाइसँगै राजनीतिक जीवनलाई निरन्तरता दिँदै आउनुभएका लामा विसं २०५२ मा एमालेनिकट अनेरास्ववियु मकवानपुरको जिल्ला कोषाध्यक्ष हुँदै २०७१ मा तत्कालीन एमाले मकवानपुरको उपसचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँले पार्टीमा विद्यार्थी इञ्चार्जको भूमिकामा रहेर काम गर्नुका साथै २०७१ मा अखिल नेपाल महिला सङ्घको जिल्ला सचिव समेत हुनुभयो
विसं २०७२ मा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय सदस्य हुनुभएकी लामा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष समेत बन्नुभएको थियो । राजनीतिक क्षेत्रमा क्रियाशील लामा २०७४ को स्थानीय तह चुनावमा हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको हो