बुटवल, जेठ ७
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्नका लागि अध्ययन थालेको छ । मन्त्री कृष्ण कुमार श्रेष्ठको नेतृत्वमा बुटवल तामनगर स्थित कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयको शनिबार अवलोकन गर्दै अध्ययन थालेको हो ।
अवलोकनपछि मन्त्री श्रेष्ठले सिपयुुक्त जनशक्ति उत्पादनका लागि शिक्षण प्रतिष्ठान स्थापना गर्ने तयारी भइरहेको बताउनु भयो । ‘कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयको अवलोकनले प्राविधिक जनशक्ति उत्पादनका लागि यस्ता शिक्षालयको आवश्यकतालाई अझ बढि बोध गरायो’ अवलोकनपछि मन्त्री श्रेष्ठले भन्नुभयो ‘कम्तीमा एक हजार विद्यार्थीले आवास सहितको सुविधा पाउने गरि शिक्षालय स्थापनाको आवश्यक प्रक्रिया अघि बढ्नेछ ।’
मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको जिम्मेवारी समालेदेखि स्वदेश र विदेशमा सिपयुुक्त प्राविधिक जनशक्ति निर्माण गर्ने योजना अघि सारेको भन्दै आफ्नो मन्त्रालयसँग रोजगारी समेत जोडिएकोले विदेशमा जाने जनशक्ति समेत सिपयुुक्त हुँदा त्यसले राम्रो अवसर पाउने बताउनु भयो ।
मन्त्री श्रेष्ठले आवास सहितको तालिम केन्द्र ७ वटै प्रदेशमा स्थापना गर्ने गरि तयारी भइरहेको बताउनु भयो । काठमाडौंको भैसीपाटीमा रहेको तालिम केन्द्रलाई समेत अपग्रेड गर्ने तयारी भइरहेको उहाँले बताउनु भयो ।
रोजगार सृजनाका लागि सिपमूलूक जनशक्तिको आवश्यकता महसुस गरिएको भन्दै मन्त्रालयका निमित्त सचिव डण्डुुराज घिमिरेले चाहेजति सिप दिन नसकेकाले त्यस्तो जनशक्ति निर्माणका लागि सात वटै प्रदेशमा प्रशिक्षण केन्द्रहरु स्थापनाका लागि अध्ययन अनुसन्धान गर्न कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयको अवलोकन गरिएको बताउनु भयो ।
उक्त अवसरमा शिक्षालयका उपप्रमुख इञ्जिनियर किरण काफ्लेले डिप्लोमा इन इञ्जिनियरिङ कार्यक्रम अन्र्तगत अटोमोबाईल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, मेकानिकल र रिग्रेरिशन तथा एयर कन्डिशनका कक्षाहरु सञ्चालनमा रहेको बताउनु भयो । कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयमा ८ सय विद्यार्थीहरु अध्ययनरत छन् ।