काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट राष्ट्रियसभा सदस्य हुन् दोलखाका घनश्याम रिजाल। गत फागुन २१ गतेबाट राष्ट्रियसभा सदस्य बनेका उनी २०४९ सालदेखि सक्रिय राजनीतिमा आबद्ध छन् ।
विसं २०३७ पुस ८ गते जन्मिएका रिजालसँग तत्कालीन नेकपा एमाले निकट युवासङ्घको जिल्ला समिति सदस्य, उपसचिव, पार्टीको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य रहेर काम गरेको अनुभव छ। अहिले पार्टी उपसचिव, उपाध्यक्ष हुँदै बागमती प्रदेश कमिटी सदस्य रहेका छन् । उनी नेपाल दलित मुक्ति सङ्गठनको केन्द्रीय महासचिव समेत रहेका छन् ।
प्रस्तुत छ उनै सांसद रिजालसँग गरिएको कुराकानीको संक्षिप्त अंश:
राष्ट्रियसभा सदस्य भएर देशको सेवा गर्ने अवसर भर्खरै प्राप्त भएको छ । खुसी लागेको छ । जिम्मेवारीवोध पनि भएको छ । दोलखा प्राकृतिक हिसाबले निकै सुन्दर जिल्ला हो । त्यस ठाउँको विकास गर्नुपर्ने मुख्य जिम्मेवारी छ । बागमती प्रदेशको दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य पुग्न पाउँदा गर्व लागेको छ ।
प्राकृतिक र जातीय हिसाबले पनि लोपोन्मुख थामी, जिरेल, सुरेल जाति दोलखामा बासोबास गर्दछन् । उनीहरूको संस्कृतिका साथै शिक्षा, स्वास्थ्यदेखि आधारभूत आवश्यकताका बारेमा पनि ध्यान दिनुपर्ने जरुरी छ । समग्र दोलखाली जनताको जीवनस्तर उकास्न काम गर्नुपर्ने छ । दोलखाबाट निर्वाचित जनप्रतिनिधि र दोलखामा सक्रिय राजनीतिक दलहरू सबै मिलेर विकास निर्माणका काममा एकताबद्ध हुनुपर्ने जरुरी छ । बौद्धिक व्यक्तित्व र सरोकारवाला पक्षको एकमत हुन जरुरी छ ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको चरणमा जिल्लाका राजनीतिक दलहरू एक हुँदा राम्रो सन्देश गएको म यहाँ स्मरण गर्न चाहन्छु । यो आयोजना निर्माणबाट दोलखालाई मात्र नभएर सिङ्गो नेपालको अर्थतन्त्रलाई सहयोग पुग्यो । लोडसेडिङको मारमा परेका जनतालाई उज्यालोतर्फ लैजाने काम भयो । तामाकोशी जलविद्युत् आयोजना तेस्रोलगायत यस जिल्लामा विभिन्न सुन्दर प्राकृतिक तालहरू छन् । पर्यटन क्षेत्र, कृषि उत्पादन वृद्धि गर्न सकेमा जिल्लावासीको जीवनस्तरमा सुधार आउँछ । मेरो ध्यान दोलखाली जनताको जीवनस्तर उकास्नमा हुनेछ । जनता दिगो शान्ति, सुशासन, विकास निर्माण चाहन्छन् ।
संविधान जारी भएको लामो समय बितिसक्दा पनि संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बन्न सकेका छैनन् । यो अस्वस्थ राजनीतिक प्रतिस्पर्धा र अस्थिरताले गर्दा नै हो भन्ने मेरो बुझाइ छ । सर्वप्रथमतः राजनीतिक दलहरू नै संविधानप्रति इमान्दार हुनुपर्छ । संविधान कार्यान्वयनका सन्दर्भमा दलहरू एकै ठाउँमा उभिन सक्नुपर्छ । समयको पदचापलाई दलहरूले बुझ्न सकेमा मात्र देशको भविष्य सुन्दर हुन्छ । परिपक्वता र सामूहिकताको भावना जरुरी भइसकेको छ ।
संसद्मा विधायकको काम कानुन बनाउने भनिए पनि नेपालमा त्यो खालको परिपाटी अझै राम्रोसँग स्थापित हुनसकेको छैन । सांसद भन्नेबित्तिकै विकास गर्ने हो भन्ने जनमत छ । त्यो कुरा जनतालाई बुझाउन पनि सकिएको छैन । पहुँच भएका नेताहरूले आफ्नो गाउँ, जिल्लामा विकास निर्माणका लागि बजेट धेरै लगेको पनि देखिन्छ ।
म राष्ट्रियसभाअन्तर्गत आर्थिक व्यवस्था तथा सुशासन समितिमा आबद्ध छु । संसदीय मर्यादाको पालना गरेर आफ्ना कुराहरू राख्ने, अध्ययन गर्ने, विज्ञहरूसँग छलफल गरेर कानुन बनाउने काम गर्ने मुख्य भूमिका रहने छ । सांसदको रूपमा जति दिन काम गर्न पाउँछु, पूरै निष्ठाका साथ गर्नेछु ।
साभारः दृष्टिन्युज डटकम