काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को १०औं राष्ट्रिय महाधिवेशन केन्द्रीत दस्तावेज मस्यौदा समितीको बैठकले एउटा मात्र दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको छ।
गत मंगलबारदेखि सुरू भएर बिहिबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बैठकमा महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमाथि छलफल भएको जानकारी दिनुभयो।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उपमहासचिव खतिवडाले भन्नुभयो, ‘१५, १६ र १६ गते तीन दिनसम्म चलेको वैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयका बारेमा छलफल गरेको छ। खासगरी हाम्रो पार्टीको आगामी महाधिवेशनबारे गम्भीर छलफल भएको छ। पार्टीले अगाडि बढाउने समाजवादी कार्यक्रमका बारेमा महत्वपूर्ण छलफल भएको छ। पार्टीभित्र विभिन्न ढंगले उठिरहेका विषयमाथिसमेत छलफल भएको छ। आगामी महाधिवेशनमा एउटा मात्र दस्तावेज आउने छ। यसका निम्ति सर्वसम्वत निर्णय भएको छ।’
उपमहासचिव खतिवडाले अगाडि भन्नुभयो, ‘पार्टीभित्र उठेका संसयहरू अब दुर भएका छन्। अलगअलग सोचहरू दुर भएको छ। हाम्रो पार्टीले लिने समाजवादी क्रान्तिको बाटो के हो, समाजवादका चुनौती के हुन्, समाजवादको प्रारम्भ कहाँबाट हुन्छ, हाम्रो प्रधानअन्तरविरोध कोसँग हो भन्ने जस्ता कुराहरू पार्टीको दस्तावेजमा आउनेछ। जबजका उपलब्धिहरूको रक्षा गर्दै नेपाली विशषेताको समाजवादी कार्यक्रम तय गरेर अगाडि बढ्ने बैठकको निष्कर्श छ।’
उपमहासचिव खतिवडाकाअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा.बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसालले सङ्गठनात्मक प्रस्ताव लेखनको संयोजन गर्ने गरी कार्य विभाजन भएको छ।
दस्ताबेजका मस्यौदामाथि छलफल गर्न फागुन २७ गते बैठक बस्नेछ। चार वटै दस्ताबेजलाई एकीकृत गरेर महाधिवेशनमा एउटै दस्ताबेज लैजाने पार्टीको तयारी छ।