काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को आशन्न महाधिवेशन केन्द्रित दस्तावेज मस्यौदा समितिको बैठक बस्ने भएको छ।
पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आगामी पार्टीको महाधिवेशनका निम्ति बनेको मस्यौदा समिति (फागुन १५ र १६ गते) को बैठक बस्न लागेको जानकारी दिनुभयो।
आइतबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउदै उपमहासचिव खतिवडाले उक्त कुराको जानकारी दिनु भएको हो।
त्यस्तै समाजवादी मोर्चा नेपालले आगामी चैत ३ गते काठमाडौँमा ‘नेपाली विशेषताको समाजवाद’ विषय एक कार्यक्रम गर्ने लागेको उपमहासचिव खतिवडाले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘समावादी मोर्चा नेपाल, नामक एक प्रकाशन समेत गर्ने भएको छ। जिल्ला तहमा मोर्चाका गतिविधिलाई कसरी लैजाने भन्नेबारेमा कार्ययोजना तय गर्ने र अगाडि बढ्ने कुरा भएको छ। साथै बैठकले माओवादी केन्द्र, कोशी प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहनु भएका बासु दुलालको नेतृत्वमा गठित स्वतन्त्र गणतान्त्रिक मोर्चा एकीकृत समाजवादीमा समाहित भएकामा स्वागत गरेको छ।’
त्यस्तै उपमहासविच खतिवडाले वामपन्थी विचारधाराका दलहरूलाई घनिभूत पार्नेमा एकीकृत समाजवादी सकारात्मक रहेको जानकारी दिनुभयो। सञ्चारकर्मीको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, ‘वामपन्थी शक्तिहरु एक हुनुपर्छ भन्नेमा हाम्रो पार्टीको मुल नीति नै हो। आजका दिनसम्म कसैलाई पनि चिठी काटेर छलफल गर्ने विषयमा कुनै निर्णय त भएको छैन। तर, अनौपचारिक रुपमा समाजवादी मोर्चालाई वृहत बनाउने कुरा हाम्रो मुख्य कुरा हो।’
त्यस्तै बैैठकले स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा पार्टीमा समाहित भएकोमा धन्यवाद ज्ञापन गरेको छ। गत शनिबार झापामा एक कार्यक्रमका बीच उक्त मोर्चा एकीकृत समाजवादीमा समाहित बनेको थियो। पार्टीका सम्मानित नेता झलनाथ खनाल र उपाध्यक्ष घनेन्द्र बस्नेतले स्वागत गर्नु भएको थियो।