काठमाडौँ। समाजवादी प्रेस संगठन, नेपाल झापाको जिल्ला भेला तथा ‘पत्रकारिताको चुनौति र अबको बाटो विषयक’अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
शनिबार अनिलदेव राईको अध्यक्षता तथा संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको प्रमुख आतित्थ्यतामा उक्त भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
‘जिम्मेवार पत्रकारःसमाजवादको आधार’ भन्ने मुलनाराका साथ संगठन विस्तारमा जुटिरहेको समाजवादी प्रेस संगठन नेपालले झापाको भेला सम्पन्न गरेको संगठनका अध्यक्ष विश्वमणि सुवेदीले जानकारी दिनुभयो।
साथै अध्यक्ष सुवेदीले समाजवादी प्रेस संगठनको दायित्व श्रमजिवि पत्रकारको हकहितको रक्षा र जिम्मेवारीबोध सहितको पत्रकारिताको विकास गर्ने भएको भन्दै संगठनमा आवद्ध पत्रकारहरूले सोही अनुसारको जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो।
अध्यक्ष सुवेदीले भन्नुभयो, ‘समाजवादी प्रेस संगठन, नेपाल विद्रोहबाट बनेको संगठन हो। त्यसकारण पनि समाजवादी प्रेस संगठनमा आवद्ध साथीहरू ज्यादा जिम्मेवार हुनुपर्ने छ। हामी जिम्मेवार पत्रकारः समाजवादको आधार भन्ने नारा लिएर अगाडि बढिरहेका छौं।’
त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय पार्टी स्कुल सचिव अशेष घिमिरेले सबै सुचना र ज्ञानले आम मानिस र श्रमिकलाई सबल नबनाउने भएकाले शासकको पक्षमा नभइ श्रमिक वर्ग पक्षधरताको ज्ञान र सुचना सम्प्रेषण गर्न समाजवादी पत्रकारहरूको दायित्व भएको बताउनु भयो।
उहाँले भन्नुभयो, ‘समाजवाद र पूँजिवादबीचको बाटो छैन। पत्रकारिता स्वतन्त्र र निरेपक्ष हुँदैन। हामा समाजवादीहरूले, स्वतन्त्र हुनुको अर्थ शासक वर्ग र पूँजिवादबाट स्वतन्त्र हुनु हो। पूँजिको दासताबाट मुक्ति खोज्नु हो। पत्रकारिता अहिलेकै शोषणकारी व्यवस्था कायम राख्ने कि यसलाई बदल्ने भन्ने विचारको लडाईंलाई गति दिने मुख्य औजार हो।’
नेता घिमिरेले अगाडि भन्नुभयो, ‘पूँजिवादले मिडियालाई भ्रम र झुटको खेती गरेर आम मान्छेलाई गलत सुचना दिन प्रयोग गर्ने भएकाले सही सूचनाका लागि समाजवादी पत्रकारहरू क्रियाशील हुनुपर्ने छ। यो काम जोखिमको हो । यो जोखिम मुलतः दक्षिणपन्थी शक्तिहरूबाट भएकाले दक्षिणपन्थी तथा पूँजिवादीहरू विरूद्ध सचेत संघर्ष गर्न जनतालाई जागृत गर्ने संवेदनशील काममा अब्बल हुन समाजावादी पत्रकारहरू अग्रसर हुनुपर्नेछ। पत्रकारिता क्षेत्रमा श्रमजीवि पत्रकाराहरूको जिनेदगीमा आएको संकट पूँजिवादी व्यवस्थाले निम्त्याएको बहुआयामिक संकटहरू मध्येकै एउटा संकट हो। मिटरब्याजबाट पीडित आम श्रमजिवि जनताको संघर्ष र श्रमजिवि पत्रकारको ज्याला र बेतन काटेर घरजग्गा वा नाफाका अन्य क्षेत्रमा लगानी गर्ने शोषणकारी वित्तीय पूँजिवादको उपज हो।’
अन्करक्रियामा अग्रज पत्रकार लिला बरालले पत्रकारिताको मुख्य काम मान्छेलाई जगाउने भएको बताउँदै सहि सूचना संकलन, प्रकाशन र प्रसारण गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले भन्नुभयो,‘पत्रकारिताको मुख्यकाम जनतालाई जगाउने हो। पेट पाल्ने मात्र होइन। प्रविधिले आजको पत्रकारिताको आयाम फेरेको छ। तर, प्रविधि मान्छेभन्दा जान्ने होइन। प्रविधि मान्छेले नै चलाउने भएकाले यसको सदुपयोग गर्न सक्धा यसले पत्रकैरितालाई विगार्ने नभइ थप सहयोग पुऱ्याउॅंछ। पत्रकारिताले भुईं छोडेको छ। सबै सञ्चार माध्यममा एकैखाले समाचार आउने र यसलाई हटाउनका लागि जनताको जीवनतर्फ फर्केर कथाहरू समाचारहरू खोज्न हामीले सक्नुपर्छ।’
कार्यक्रमको औचित्यबारे प्रस्ट पार्दै समाजवादी प्रेसका उपाध्यक्ष तिर्थ सिग्देलले पार्टीको दुई महिने संगठन सुदृढीकरण अभियानकै कार्यक्रम स्वरूप प्रशिक्षणमुलक रूपमा भेलाको आयोजना गरिएको बताउनु भयो। उपाध्यक्ष सिग्देलका अनुसार अनिलदेव राई अध्यक्ष भएको जिल्ला कमिटी भेलाले पुनर्गठन गरेको छ।
अध्यक्षमा शम्भुजित दहाल, उपाध्यक्षमा गोविन्द लुहागुन, रिता दाहाल, सचिवमा सुरज प्रधानसहित ११ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य निलमणी बराल, झापाका जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मी, एकीकृत कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष चेतनाथ न्यौपाने, जिल्ला नेता विपि भट्टराई, समाजवादी प्रेसका केन्द्रीय सदस्य दिलिप थापालगायतको उपस्थिति रहेको थियो।