काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पेशागत महासंघ झापाले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार मदन खतिवडाको अध्यक्षता एवं ज्येष्ठ कम्युनिस्ट मञ्च तथा केन्द्रीय सल्लाहकार पेशागत महासंघ नेपालका संयोजक बेदनीधि निरालाको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
केन्द्रीय सल्लाहकार संयोजक मोहन केसीले, श्रमिक आन्दोलनभित्र बढेको पूँजिवादीकरणका विरूद्ध पेशागत महासंघ नेपालको स्थापना भएको स्पष्ट पार्नु भयो। पेशागत आन्दोलन विश्ववामपन्थी आन्दोलनको एक हिस्सा भएको उहाँको भनाई छ।
ज्ञानेन्द्र ढुंगाना सञ्चालक रहनु भएको कार्यक्रमको प्रशिक्षकका रूपमा पार्टीका केन्द्रीय सदस्य तथा पार्टी स्कुल विभाग सचिव अशेष घिमिरे रहनु भएको थियो।
नेता घिमिरेले पेशागत महासंघको आन्दोलन कम्युनिस्ट पार्टीको महत्वपूर्ण घटक भएकाले यसले आममानिस र श्रमिकहरूलाई ट्रेड युनियन चेतनाबाट समाजवादी चेतनामा रूपान्तरण गर्ने काममा अगुवाइ गर्नुपर्ने बताउनु भयो।
उहाँले पूँजिवाद विरोधि समाजवादी आन्दोलनको इतिहास छोटो भएकाले शुरूमा कम मान्छे सहभागि हुने बताउँदै समाजवादी विचारको तागतमा क्रमशः मानिसहरू सही विचारतर्फ आकर्षित हुने बताउनु भयो।
नेता घिमिरेले भन्नुभयो, ‘दक्षिणपन्थीहरूलाई हजार वर्षदेखि स्थापित विचार र परम्पराको जगमा आकर्षित गर्न सजिलो हुन्छ। रामराम भन्ने नामबाट पनि मान्छे भेला गर्न सक्छन्। पूँजिवादीहरूलाई पनि स्थापित विचारको आडमा मान्छे आकर्षित गर्न सजिलो नै हुन्छ। तर, समाजवादीहरू नयाँ संसारको, नयाँ समाजको कुरा गर्न अलि मिहिनेत र संघर्ष नै गर्नुपर्छ। तर, वस्तुनिष्ठ र मानवीय विचारको प्रसारको क्रममा समाजवादीहरूले अन्ततः गलत शक्तिलाई पराजित गर्नेछन्।’
कार्यक्रममा पोलिटब्युरो सदस्य भास्कर काफ्ले, जिल्ला कमिटी अध्यक्ष वेदराज रेग्मी, केन्द्रीय सदस्य निलमणी बराल, समाजवादी प्रेस संगठनका उपाध्यक्ष तिर्थ सिग्देल, एकीकृत कर्मचारीका वरिष्ठ उपाध्यक्ष चेतनाथ न्यौपानेलगायतका नेताहरूको उपस्थिति थियो।
पेशागत महासंघ जिल्ला कमिटी पुनर्गठन गरिएको छ। अध्यक्षमा मोहन ढकाल, उपाध्यक्षमा विमला खनाल, सचिवमा रूपनारायण श्रेष्ठ चयन हुनु भएको छ। ढकालको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।
त्यस्तै सेवा निवृत्त राष्ट्रसेवक संघ नेपाल गठन गरिएको छ। जसको अध्यक्षमा दुर्गाराज भण्डारी, उपाध्यक्षमा हर्कबहादुर कुँवर, सचिव नारायण श्रेष्ठसहित ११ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ।