काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रजातन्त्रले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्नमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले उक्त कुरा व्यक्ति गर्नु भएको हो।
जारी विज्ञप्तिमा भनिएको छ,‘मुलुकमा रहेको निरङ्कुश, जहांनिया र तानाशाही व्यवस्थाबाट देशलाई मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। यस अवसरमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यानको बलिदानी दिने सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ र राज्यशक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीर वीराङ्गना सहिदको बलिदानबाट स्थापित गरेको हुनाले नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण र अविस्मरणीय रहेको छ। प्रजातन्त्र कै जगमा मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ। २००७ सालको क्रान्तिको प्रतिफल स्वरुप प्राप्त प्रजातन्त्रलाई संस्थागत गर्न नेपाली जनताको चाहना बमोजिम २०७२ सालमा संविधानसभाबाट उत्कृष्ट संविधानको पनि निर्माण भएको छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ,‘संविधान जारी भएसँगै लामो राजनीतिक सङ्क्रमणकाल समाप्त भई हाल मुलुकको आर्थिक सामाजिक रूपान्तरण सहित आमजनताको जीवनस्तर सुधार गर्न तीन तहकै सरकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ। अर्थतन्त्रमा उल्लेख्य सुधार गरी मुलुकमै रोजगारीको सहज वातावरण निर्माण गर्न भूमिका खेल्ने दिशातर्फ अग्रसर हुनु हामी सबैको साझा दायित्व हो। निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गरेका हामीले अब गरिबी, बेरोजगारी, पछौटेपन, विभेद र कुरीतिका विरुद्ध ध्यान केन्द्रित गर्नुपर्दछ। अन्तमा, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने भन्दै पुनः शुभकामना व्यक्त गर्दछु।’