काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले देशका राजनीतिक पार्टीहरू र नेताहरू सफल भए पनि देश किन असफल भयो भन्दै प्रश्न गर्नु भएको छ।
मङ्गलबार काठमाडौँमा नेपाल अध्ययन केन्द्रद्वारा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै महासचिव भुसालले राजनीतिक दलहरुले आफूलाई सफल भएको दाबी गर्ने गरेको भए पनि देश भने असफल भइरहेको बताउनु भएको हो।
महासचिव भुसालले हरेक राजनीतिक दलहरूको दस्ताबेजहरूले आफूलाई सफल भएको दाबी गर्ने गरेको भन्दै दल सफल हुँदा देश चाहिँ किन असफल भएको हो भनी प्रश्न गर्नुभयो। उहाँले नेता र पार्टी सफल हुँदा देश असफल कसरी भइरहेको हो भन्दै प्रश्न गर्नुभयो।
महासचिव भुसालले नेपालका राजनीतिक दलहरू गुटमा परिणत भइसकेको दाबी गर्नुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र समस्या नभई गणतन्त्रको अभ्यासमा र पात्रहरूमा समस्या भएको बताउनु भयो।
उहाँले भन्नुभयो, ‘हरेक राजनीतिक पार्टीले दाबी के गर्छ भने, हामी सफल छौँ। हरेकको केन्द्रीय कमिटी बैठकमा हे¥यौँ भनेदेखि ती पार्टीका डकुमेन्टहरूले भन्छन्, हाम्रो पार्टी सफल छ। ठिक छ। असल नै छ भनेर हरेक राजनीतिक पार्टीको डकुमेन्ट भन्छ। राजनीतिक पार्टी सफल हुने, देश असफल हुने यस्तो कसरी हुन्छ? सबै पार्टी सफल भइराख्ने। काँग्रेस, एमाले, माओवादी, समाजवादी सबै सफल हुने। अनि देशचाहिँ असफल हुने? दल भनेको अब करिब करिब पार्टी नेताहरूको गुटमा परिणत भइसकेका छन्। अनि हरेक पार्टीको औपचारिक कुरा के हो भन्दा आफ्नो पार्टीको नेता सफल भएकै हुनाले नेता भयो। देशचाहिँ असफल भइराख्ने। नेता चाहिँ सफल भइराख्ने। देशचाहिँ असफल भइराख्ने पार्टीचाहिँ सफल हुने यो अन्तर्विरोध कहाँ हो? के हो? संघीय लोकतान्त्रिक गणतन्त्र आफैँमा समस्या होइन। त्यसको अभ्यासमा समस्या छन्। त्यसको विचार र पात्रहरूमा समस्या छन्।’
महासचिव भुसालले देशमा गणतन्त्र आइसक्दा पनि पार्टीहरूले दशकौँ अघिको सिद्धान्त बोकेर हिँडिरहेका भन्दै त्यसले नै गणतन्त्र कार्यान्वयनमा समस्या आइरहेको बताउनु भयो। दलहरूको पुराना सिद्धान्तका कारण गणतन्त्र राम्रो बाटोमा हिँड्न नसकेको उहाँको भनाइ छ।