काठमाडौँ। १९ पदका लागि बिहीबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत १८ पदमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् भने एक पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
कोशी प्रदेशको महिला क्लस्टरमा गठबन्धनका चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला ५०८६ मतभारसहित निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी कार्कीले चम्पा कार्कीले ४९९२ मतभार प्राप्त गरिन्।
यो प्रदेशमा पुरुषतर्फ कांग्रेसका कृष्ण सिटौला ५२९२ मतभारसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी उद्धव पौडेलले ४५६२ मतभर मात्र पाए। कोशीमा महिलातर्फ गठबन्धनका मतदातामध्ये ३ प्रदेश सभा र १७ स्थानीय तहका मतदाताले फ्लोर क्रस गर्दा गठबन्धनकी कार्की पराजित बनेकी हुन्।
मधेस प्रदेश
मधेस प्रदेशको दुई पदमा भएको निर्वाचन अन्तर्गत अन्य क्लस्टरमा कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जसपपाका पूजा चौधरी निर्वाचित भए। ढुंगाना ७ हजार ३७० मतभार पाएर निर्वाचित भएका हुन् । महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७ हजार ९२३ मतभार पाएर जितिन्।
बागमती प्रदेश
बागमती प्रदेशमा पनि गठबन्धनका चारै जना विजयी भएका छन्। यो प्रदेशमा महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी ६ हजार ६२२ मतभार सहित विजयी बन्दा एमालेकी उम्मेदवार रोचकुमारी चौलागाईंलाई पराजित बनिन्। दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा ६ हजार ५१२ मतभार प्राप्त गर्दै विजयी बने। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभारमात्र पाए।
अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जीतजंग बस्नेते ६ हजार ५३१ मतभारसहित निर्वाचित बन्दा नेकपा एमालेका त्रिलोचन निर्मल पौडेल दुई हजार ३५९ मतभारमा सीमित बने। अल्पसङ्ख्यक तथा अपांगतातर्फ माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित अधिकारीले ६ हजार ४३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका देवकोटाले दुई हजार ७३४ मत ल्याए।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भए। यो प्रदेशमा कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतारअल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट मनरुपा शर्मा निर्वाचित भइन्। श्रेष्ठले ३ हजार ८०८, परियारले ३ हजार ७७९ र मनरुपाले ३ हजार ६६० र मतभार पाउँदै निर्वाचित भए।
एमालेका अन्यतर्फका उम्मेदवार चक्रबहादुर पराजुलीले २ हजार ४७७, अपांगता÷अल्पसंख्यकतर्फ एमालेका हेमन्द्र शेरचनले २ हजार ४५८ र महिलातर्फ सम्झना देवकोटाले २ हजार ५५३ मतभारमात्र पाइन्।
लुम्बिनी प्रदेश
लुम्बिनीको दुई पदमा भएको निर्वाचनमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भइन्। सापकोटाले ५४३५ मत भार प्राप्त गर्दै विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरिन्।
यस्तै अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका छन्। सुवेदीले ५ हजार ४३५ मतभार प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिद्धदी एमालेका झपेन्द्र बहादुर जिसीले ३०३९ मतभार प्राप्त गरेका छन्।
कर्णाली प्रदेश
राष्ट्रिय सभा अन्तर्गत कर्णालीमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। तीन वटा सिटका लागि भएको निर्वाचनमा ६ जनाले उम्मेदवारी दिएका थिए। जसमा नेकपा एमालेका उम्मेदवारहरू पराजित भए भने गठबन्धनका तीनै जना उम्मेदवारहरू विजयी भए।
कर्णालीमा दलित, महिला र अन्य कोटामा निर्वाचन भएको थियो। जसमा अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु विक विकल्प रहेका छन्।
मल्लले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ ११५ मत प्राप्त गरिन् भने विकले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे। यस्तै रोकायाले प्रदेशतर्फ ३० र स्थानीय तहतर्फ १२० मत प्राप्त गरेका छन्।
एमालेका उम्मेदवार विमला शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन् भने हिक्मत विकले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरे। यस्तै डिल्ली प्रसाद भट्टले प्रदेशमा १० र स्थानीयतर्फ ३६ मत पाए।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्। महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन्। चन्द ४ हजार ४५३ मतसहित निर्वाचित भइन्। अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतसहित निर्वाचित भए। त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए।