पोखरा,जेठ ४
कास्कीको पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले विपक्षीसँगको मतान्तरलाई झन् झन् फराकिलो पार्दै लानुभएको छ ।
मतगणना सुरु हुँदाको बेलामा झिनो अन्तरले उकालो लागेका आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई सुरुबाट नै दबाबमा राख्दै क्रमिक रूपमा मतान्तर बढाउँदै लैजानु भएको हो ।
पछिल्लो पटक सार्वजनिक भएको ३४ हजार ६ सय १३ मतको गणनाको नतिजामा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार आचार्यले १ हजार ८ सय ४५ मतले थापालाई पछाडि पार्नुभएको छ ।
आचार्यको पक्षमा १४ हजार ३ सय ६२ मत आएको छ भने थापालाई १२ हजार ५ सय १७ मत आएको छ । नगर प्रमुखमा नै प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले १ हजार ४ सय ८३, अटेरी समूहका गनेश पौडेलले ८ सय १५, विवेकशील साझाकी सुशीला के.सी. ले एक सय ७ मत पाउनु भएको छ ।
यस्तै उपप्रमुख पदमा पनि मतान्तर फराकिलो बनेको छ। काँग्रेसबाट उम्मेदवार रहुन भएकी कोपिला रानाभाटले एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई ४ सय १० मतले पछाडि पार्नुभएको छ ।
पछिल्लो पटक सार्वजनिक परिणाम अनुसार रानाभाटले १४ हजार ६ सय ८५ मत ल्याउँदा गुरुङको पक्षमा १४ हजार २ सय ७५ मत आएको छ ।
उपप्रमुख पदमा प्रतिस्पर्धा गरिरहनुभएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रन्जना कुमारी सेन पौडेललाई १ हजार २ सय ६३ मत आएको छ ।