काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले राप्रपाले पृथ्वीनारायण शाहको नाममा राजतन्त्रको खेती गरिरहेको आरोप लगाउनु भएको छ।
शुक्रबार पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को तेस्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव खतिवडाले उक्त कुरा बताउनु भएको हो।
पार्टीका केन्द्रीय सदस्य तथा संगठनका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षता तथा पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा उपमहासचिव खतिवडाले भन्नुभयो, ‘आज राष्ट्रियता एकता दिवस। यस दिनले हामीलाई घच्घच्याइ रहेको पनि छ। आज म एउटा कुरा स्पष्ट गर्न चाहान्छु। हामी राजतन्त्र विरोधी हौं। हामीले दुई सय ४० वर्षे राजतन्त्र फालेर गणतन्त्र ल्याएका हौं। नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाह थिए। उनको भूमिका महत्वपूर्ण थियो। तर, उनले एक्लैले नेपाल एकीकरण गरेका थिएनन्। शाहका पछाडी त्यसबेलाका जनता थिए। सेना थिए। यसकारण नेपालको इतिहास निर्माण गर्ने नेपाली हुन्। पृथ्वीनारायण शाह त्यस अभियानका नेता र अगुवा हुन्। उनी नेपाली जनताका राजा थिएनन्। इतिहासको मूल्याङ्कन यसरी गर्नुपर्छ।’
पृथ्वीनारायण शाहको नाममा राजतन्त्रको खेती गर्ने राप्रपाको शैली ठिक नभएको बताउदै उपमहासचिव खतिवडाले अगाडि भन्नुभयो, ‘आजकै दिन राजेन्द्र लिङ्देनले चियापान कार्यक्रम राख्नुभएको छ। उहाँहरूले मलाई पनि निमन्त्रणा गर्नु भएको थियो। उहाँहरूले पृथ्वीनारायण शाहको नाममा राजतन्त्रको खेती गरिरहेको अवस्थामा म उहाँको कार्यक्रममा जान सकिँन।’
उपमहासचिव खतिवडाले नेपाल सैनिक तथा प्रहरी संगठन (समाजवादी) ले उठाएका पेन्सन, वद्धाभक्ता लगयातका मागहरूका बारेमा आफू र पार्टी नेतृत्वले सक्दो प्रयास गर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘भूतपूर्व सैनिक तथा प्रहरीलाई अन्य नागरिक सहर वृद्धाभक्ता र पेन्सनको विषयमा केही समस्या रहेको सुनाउनु भयो। म यस विषयलाई पार्टीमा उठाउछु। सम्भव भएसम्म यी विषय समाधान गर्ने कोसिस हुनेछ। तपाईंहरू पार्टी र संगठनको विस्तारमा लाग्नुहोस्। आगामी स्थानीय निर्वाचनमा सबै वडामा उम्मेद्वार उठाउने गरी गाउँ जानुहोस्। स्थानीय तहमा जानुहोस्। मेरो सुझाव यहि हो।’
कार्यक्रममा संगठनका इन्चार्ज एवं पार्टीका पोलिटब्यूरो सदस्य भाष्करराज काफ्ले, संगठनका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला कमिटी उपाध्यक्ष खड्ग बहादुर केसी, कोशी प्रदेश कमिटी सदस्य, संगठनका उपाध्यक्ष तथा कोशी प्रदेशका इन्चार्ज पवित्रराम थापा, संगठन गण्डकी प्रदेश अध्यक्ष शोभाकर दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।