सुर्खेत। नेकपा (एकीकृत समाजवादी)ं निकट (अनेरास्ववियू) रूकुमपश्चिमले जिल्ला प्रशासन कार्यालय रूकुमपश्चिममा ध्यानाकर्षण पत्र बुझाएको छ।
सोमबार संगठनका जिल्ला कमिटी अध्यक्ष रमेश मल्लको नेतृत्वमा गएको एक टोलिले निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाललाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।
गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले घरबासबिहिन भएका सर्वसाधारणहरु चिसोबाट थप प्रभावित भएको र जनजीवन कष्टकर भएको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको अनेरास्ववियूका जिल्ला अध्यक्ष मल्ले बताउनु भएको छ।
दुई महिना अघि जाजरकोट जिल्लाको रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम सुस्त भएको मल्लको भनाई छ। भूकम्प प्रभावितको जीवन रक्षा र दीर्घकालीन पुनर्निर्माणमा सरकारको ध्यान केन्द्रित गर्न प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्याकर्षण गराईएको मल्लले बताएका छन्।
ध्यानाकर्षण पत्रमा अस्थायी आवास निर्माणको काम तिब्र बनाउन माग गरिएको छ भने अस्थायी आवास निर्माणको लागि सरकारले दिने अनुदानको पहिलो किस्ता बितरणमा ढिलाई नगर्न अनुरोध गरिएको छ।
त्यसैगरी भूकम्प प्रभावित क्षेत्रका विभिन्न बस्तीमा तत्काल भूगोलविद् मार्फत भौगोलिक अवस्थाको निरीक्षण तथा अनुगमन गरिनुपर्ने, दीर्घकालीन पुनर्निर्माण तथा स्थायी आवास निर्माणका लागि सरकारी मापदण्ड र कार्यबिधि लागू गरिनुपर्ने, भूकम्प प्रभावित क्षेत्रका विद्यालय र विद्यार्थी लक्षित कार्यक्रम तथा स्थानान्तरण, रोजगारी र अल्पकालीन लघु कार्यक्रम सञ्चालन गर्न सरकार समक्ष माग गरिएको छ।
ध्यानाकर्षण पत्रमा भूकम्पले रुकुम पश्चिममा ५३ जनाले ज्यान गुमाउनु परेको, गुमाए, दुई सय भन्दा बढी घाइते भएको र ३० हजार बढी घरहरूमा क्षति पुगेको स्मरण गराईएको छ।