काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले ल्होसार पर्वको शुभकामना सन्देश जारी गर्नु भएको छ।
शनिबार एक भिडियो जारी गरेर सम्मानित नेता खनाले २०८० सालको ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्णमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको हो।
उहाँले भन्नुभएको छ, ‘ल्होसार पर्व आम जनता र मानव जीवनका निम्ति महत्त्पूर्ण पर्व हो। यसका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछु। साथै अहिले हाम्रो देशको अवस्था राम्रो छैन। हाम्रो देशको आर्थिक, सामाजिक र साँस्कृतिक अवस्था ठिक छैन। गरिब जनतालाई आफ्नो जीवन धान्न कठिम भइरहेको छ। सरकारले देशका समस्या ठिक ढंगले समाधान गर्न सकिरहेको छैन। आजका समस्या समाधानका निम्ति हामी समाजवादमा पुग्नुपर्ने हुन्छ। समाजवादले मात्रै आज देखिएका आर्थिक, सामाजिक र साँस्कृतिक समस्याहरूको हल हुन्छ।’
गुरुङ समुदायले नयाँ वर्षको रूपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। गुरुङ बाहुल्य गण्डकीका खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ।
काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच यो पर्व मनाउँदै आउनु भएको छ। पर्वको अवसरमा टुँडिखेलमा सांस्कृतिक कार्यक्रमका साथै गुरुङ समुदायका परिकारको समेत प्रदर्शनी गरिन्छ।