चितवन । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने बताउनु भएको छ ।
बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकारले राम्रो काम गर्दै हिम्मतका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले भ्रष्टाचारका केशमा चासो राखेको उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो , ‘सरकारले भ्रष्टाचारका विषयमा कडाइ गरेको छ, दण्डित गर्ने कदम चालेको छ भनेर प्रशंसा भएको छ ।’
कामको आधारमा सरकारको प्रशंसा र आलोचना गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो , ‘आलोचना, निन्दा गर्नेहरु पनि हुन्छन्, प्रशंसा गर्नेहरु पनि हुन्छन् ।’
आसन्न राष्ट्रियसभाको निर्वाचनबारे उहाँले यही गठबन्धनबीच तालमेल हुने बताउनु भयो । गठबन्धनका दलबीच छलफल गरेर सिटको टुङ्गो लाग्ने उल्लेख गर्दै नेता नेपालले गठबन्धनबीच सिटको बाँडफाँट भएपछि आफ्नो पार्टीले उम्मेदवारका विषयमा मापदण्ड बनाउने जानकारी दिनुभयो । , ‘कति सिट हाम्रो भागमा पर्ने हो, कुन प्रदेश र कुन क्लस्टरमा हाम्रो भाग पर्ने हो । यी कुरा टुंगो लागिसकेपछि हामीले मापदण्ड बनाएर उम्मेदवार चयन गर्छौं ।’अध्यक्ष नेपालले भन्नुभयो ।
नेत्रविक्रम चन्द्र (विप्लव) लगायत नेतालाई पक्राउ पुर्जी जारी भएको विषयमा समाजवादी मोर्चाका संयोजक समेत रहनुभएका अध्यक्ष नेपालले पक्राउ वारेन्ट खारेज हुनुपर्ने माग गर्नुभएको छ। अध्यक्ष नेपालले पक्राउ पुर्जी जारी हुनु अनुचित भएको बताउनु भयो ।
‘हामी समाजवादी मोर्चामा पनि छौँ र गठबन्धन सरकारमा पनि छौँ, कानुनी प्रबन्धलाई पनि हेर्नुपर्ने हुन्छ । तर, उहाँहरुमाथि जुन गिरफ्तार गर्ने वारेन्ट जारी भएको छ, यो अनुचित छ ।’ अध्यक्ष नेपालले भन्नुभयो । केही दिन अघि विप्लव सहितका नेतालाई पक्राउ पुर्जी ललितपुर जिल्ला अदालतले जारी गरेको थियो।
पार्टीको राप्ती नगरस्तरीय कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल बुधबार यहाँ आइपुग्नु भएको हो ।