काठमाडौँ। प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री मेटमणी चौधरीसहित २० जना सांसदहरूको टोली चीन प्रस्थान गरेको छ।
सोमबार दिउँसो नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट छेन्दुहुँदै बेइजिङ प्रस्थान गरेको हो।
भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५-५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक-एक जना छन्।
चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको हो। चीनमा रहँदा भ्रमण टोलीले बेइजिङ, नानजिङ र गियाङ शहरसमेत भ्रमण गर्ने कार्यतालिका छ।
नेपाली कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा, नेकपा (एमाले) बाट दामोदर बैरागी, मानवीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने, नेकपा (माओवादी केन्द्र) बाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरी छन्।
भ्रमण टोलीमा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र शाखा अधिकृत जीवन निरौला सहभागी छन्। १० दिने भ्रमण पूरा गरी संसदीय टोली पुस १४ गते काठमाडौँ फर्कने छ।