काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य वशन्त मानन्धरले हिँसाका स्वरूप बदलिदै गएको बताउनु भएको छ।
अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौँ जिल्ला कमिटीको आयोजनामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय हिँसाका स्वरूपहरू बदलिदै गएका छन्। यि प्रकृतीहरूलाई दृष्टिगत गर्दै हामीले नीतिगत सुधार गर्दै जानुपर्छ। अर्को कुरा हाम्रो पार्टी र महिला संघले समाजमा घट्ने महिला हिँसाका घटनाबारे गम्भीर बन्नुपर्छ। महिला हिँसा विरुद्धका अभियानहरू प्रभावकारी बनाउनुपर्छ।’
नेता मानन्धरले अगाडि भन्नुभयो, ‘गरिबी, अशिक्षा, उमेर नपुग्दै विवाह गर्नाले पनि महिला हिँसा बढिरहेका छन्। जसका सन्दर्भमा हामीले सूचना मूलक कार्याक्रम गर्नुपर्छ। हाम्रा सामु महिला हिँसाको अन्त्यका लागि नेतृत्व गर्न सक्छौं कि सक्दैनौं ? भन्ने चुनौती छ। यसलाई दृष्टिगत गर्दै अगाडि बढ्नुपर्छ।’
पार्टीकी केन्द्रीय उपाध्यक्ष जयन्ती राईको प्रमुख आतित्थ्यता एवं जिल्ला कमिटी अध्यक्ष सरिता खनालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीकी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्री भुसाल, पोलिटब्युरो सदस्य मानन्धरलगायतले महिला हिँसा अन्त्यबारे आफ्ना धारणा राख्नु भएको थियो। वक्ताहरूले महिलामाथि भइरहेको हिँसाको अन्त्य गर्न नीतिगत सुधार गर्नुपर्नेमा जोड दिनु भएको छ।