काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वर्तमान समयमा देखिएका चुनौतीको सामना गर्न आफूहरू तयार रहेको बताउनु भएको छ।
बागमती प्रदेश कमिटी तथा केन्द्रीय लेखापरीक्षण आयोगको संयुक्त आयोजनामा लेखा सञ्चलन तथा व्यवस्थापन सम्बन्धि पशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।
शीर्ष नेताहरूबीच बिहिबार बसेको बैठकले वर्तमान समयमा देखिएका सबैखाले चुनौतीहरूको सामना गर्न तयार हुनुपर्नेमा एकमत रहेको बताउनु भएको छ। बागमती प्रदेश कमिटी अध्यक्ष सावित्री भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले बैंकबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने खालको अतिवादी कुरा गरेर अराजकता मच्चाउन खोज्नेहरूबाट सचेत बन्नुपर्नेमा जोड दिनुभयो।
अध्यक्षद्वारा वर्तमान चुनौतीमाथि ब्रिफिङ
वर्तमान समयमा देखिएका चुनौतीहरूमाथि ब्रिफिङ गर्दै उहाँले भन्नुभयो, ‘केही अराजक समूहले बैंकबाट लिएको ऋण तिर्नु पर्दैन भन्दै जनताहरूको भावनामाथि खेलिरहेका छन्। दुर्गा प्रसाईं नामका व्यक्तिले आक्रमक अभिव्यक्ति दिइरहेका छन्। बैंकबाट ऋण लिएका मान्छेहरूलाई ऋण तिर्नु पर्दैन भन्दै उनीहरूको भावनामाथि खेलिरहेका छन्। खास पीडित को हुन् ? कसरी पीडित बनेभन्दा पनि उनीहरूको मुद्धा उठाएको बाहानामा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नेमा दुर्गा प्रसाईं देखिन्छन्। म दुर्गाको पछि हिडिरहेका जनतालाई अनुरोध गर्न चाहान्छु, हामीले सत्य कुरा भूलेर भिडको पछि लाग्नु हुँदैन।’
दुर्गा प्रसाईंलाई कुनै पनि राजनीतिक दलको साथ नरहेपनि केही व्यक्तिहरूको साथ रहेको अध्यक्ष नेपालको भनाई छ। उहाँले अगाडि भन्नुभयो, ‘प्रसाईंका अभिव्यक्तिहरू अराजक छन्। उनी देशी तथा विदेशी प्रतिगामी शक्तिबाट परिचालित छन्। कमल थापा, ज्ञानेन्द्र शाही जस्ता केही व्यक्तिहरूले राजसंस्था फर्काउने नारा दिएर समाज भाड्ने काम गरिरहेका छन्। यस्ता समूहबाट हामी सचेत बन्नुपर्छ। सहिदहरूको बलिदानी र हाम्रो कठोर संघर्षबाट स्थापित गणतान्त्रिक व्यवस्थामाथि खतरा पैदा हुन थालेपछि त्यसको प्रतिकार गर्न हामी तयार रहनुपर्छ।’
समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य
अध्यक्ष नेपालले वर्तमान समयमा देखिएका अराजकताको अन्त्य गर्न र उत्पन्न चुनौतीहरूको सामना गर्न समाजवादी मोर्चा, सत्ता गठबन्धनबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ।
उहाँले भन्नुभयो, ‘तागत र बलकै कुरा गर्ने हो भने हामी पनि तयार रहनुपर्छ। समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच वर्तमान व्यवस्थामाथि उठेका चुनौतीलाई सामना गर्न एकमत हुनुपर्छ। हामीले भेला, सम्मेलन र सभाहरूको आयोजना गरेर वर्तमान समयमा देखिएका विषयका बारेमा जनतालाई जानकारी गराउनुपर्छ। आवश्यकताअनुसार भेला र सभाहरूको आयोजना गर्नुपर्छ । प्रतिकार गर्नैपर्ने अवस्था आइहाल्यो भने पनि हामीे तयार रहनुपर्छ।’
समाजवादी मोर्चाले सकारात्मक सन्देश दिएको छ
अध्यक्ष नेपालले समाजवादी मोर्चा निर्माण गर्नुको औचित्य रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, ‘समाजवादी मोर्चा नेपालले अघि सारेका मुद्धाहरू दिर्घकालिन प्रभाव पार्ने खालका छन्। सात मध्ये दुई प्रदेशमा हाम्रो पार्टीको जिम्मेवारी थियो। बागमती र सुदूरपश्चि प्रदेशमा भव्य रूपमा कार्यक्रमहरू सम्पन्न भएका छन् । थप हाम्रो पार्टीले जिम्मेवारी पाएका प्रदेशका सबै जिल्लामा समाजवादी मोर्चाका साथै हाम्रो पार्टीका गतिविधिहरू पनि सञ्चालन गर्नुपर्छ। हामीले यसअघि पटकपटक मोर्चा बनाएका छौं। आज पनि हामीले मोर्चा बनाएका छौं। यस मोर्चाले नेपाली कम्युनिष्ट आन्दोलनलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।’
केपी ओली सुध्रिने पक्षमा छैनन्
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओली सुध्रिन नसक्ने गरी बिग्रेको टिप्पणी गर्नु भएको छ। उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीका साथीहरू र एमालेका जिम्मेवार कमरेडहरूबीच भएका कुराकानिलाई आधार मानेर भन्ने हो भने ओलीजि सुध्रिने अवस्थामा हुनुहुन्न। बरू एमालेका धेरै नेताहरूले एकीकृत समाजवादीलाई बलियो बनाउने र नयाँ परिस्थितिको निर्माण गर्नुपर्नेमा जोड दिइरहनु भएको पाइन्छ। हामीले पनि यहि काम गर्नुपर्छ। सामूहिकता र पार्टी भावनाका साथ अघि बढ्नुपर्छ।’
अध्यक्ष नेपालले अगाडि भन्नुभयो,‘आज बेरोजगार, निराशा, असन्तुष्टि जस्ता विषयको फाइदा उठाएर व्यवस्थामाथि प्रहार भइरहेको छ। यसका विरुद्ध एमालेले सडक आन्दोलन रोजेको देखिन्छ। त्यसलाई नराम्रो त भन्न सकिन्न। तर, सबै मिलेर आजको चुनौतीको सामना गर्नुपर्छ भन्नेमा एकमत हुनुपर्छ। साथै हामीले अघि सारेको अभियानसँगै एमालेले पनि आफ्नो अभियान सुरु गर्ने भनेछ। राम्रै कुरा हो। हामीले सुरु गरेको अभियानले जनतामाझ नयाँ आशा भर्ने काम गरेको छ। कम्युनिष्ट आन्दोलन, माक्र्सवादी विचारका बारेमा जनतालाई भन्नु राम्रै कुरा हो।’
संघीय राजधानी रहेको प्रदेश शक्तिशाली हुनुपर्छ
अध्यक्ष नेपालले संघीय राजधानी भएको प्रदेश बागमती प्रदेश कमिटी शक्तिशाली हुनुपर्नेमा जोड दिनुभएको छ। उहाँले भन्नुभयो, ‘अभियानका क्रममा मधेश प्रदेशमा राम्रो देखिएको छ। तर, संघीय राजधानी भएका कारण बागमती प्रदेश कमिटी राम्रो हुनुपर्छ ।’
उहाँले अगाडि भन्नुभयो, ‘मलाई मधेश प्रदेशको जिम्मेवारी दिनुहुन्छ भने म त्यहाँ खट्न तयार छु। अन्य कमरेडहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्। पार्टीलाई बलियो बनाउनुहोस्। निःस्वार्थ र निःसर्त भावनाका साथ पार्टी निर्माणमा लाग्नुहोस्। आगामी महाधिवेशनको तीव्र तयारी पूरा गर्नुहोस्।’