काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले केपी ओलीले बाटो बिराएका कारण मुलुक पुन:अस्थिरतातर्फ धकेलिएको टिप्पणी गर्नु भएको छ।
यहि असोज १४ गते झापाको काँकरभिट्टाबाट सुरु भएको समाजवादी जागरण अभियानको १४औं दिन कञ्चनपुरको भिमदत्त नगरपालिकामा आयोजित कोणसभालाई सम्बोधन गर्दै महासचिव भुसालले उक्त टिप्पणी गर्नु भएको हो।
उहाँले भन्नुभयो, ‘बरु प्राकृतिक प्रकोपहरू, महामरीहरू झेल्न सकिन्छ। तर, जानिजानी राजनीतिमा बाटो बिराएपछि सकिँदैन। बाटो बिराएर भएको क्षेती राष्ट्रका निम्ति भयंकर महंगो पर्छ। यदि केपी ओलीले बाटो नबिराएका भए हामीले झेलिरहेको बेरोजगारी हल भइसक्थ्यो। ओलीका कारण मुलुकले बाटो बिरायो।’
महासचिव भुसालले अगाडि भन्नुभयो, ‘अहिले देशका विरुद्ध, यो जात, त्यो धर्म भनेर अराजकता मच्चाउन खोज्दैछन् नि ति ओलीका मानसपुत्र हुन्। जथाभावि बोल्ने, संघीयता विरोधि बोल्ने, अन्टसन्ट बोल्ने, पपुलारिजम र प्रख्यातीमा रमाउनेहरू केपी ओलीका मानस पुत्र हुन्। कन्टेन बिनाका मान्छेहरूले सिर्जना गरेको भद्रगोल अवस्थाबाट देशलाई जोगाउनुपर्छ भनेर हामीले यो अभियान सुरु गरेका हौं। जहाँ बाटो बिग्रेको थियो, हामी त्यहि जाने, राष्ट्रिय पूँजीको निर्माण गर्ने र समाजवादको आधार तय गर्ने संकल्प गरेका हौं।’
पानी जहाँज, रेलका कुराभन्दा पहिले किसानलाई टिकाउनु महत्वपूर्ण कुरा भएको बताउँदै महासचिव भुसालले भन्नुभयो, ‘हामीले तीन चार महिना छलफल गरेर यो निष्कर्श निकालेका हौं। १० वर्षभित्र बेरोजगारीको अन्त्य गरेर राष्ट्रिय पूँजीको निर्माण गर्ने हाम्रो मुद्धा हो। यो मुलक अगाडि बढ्यो भने हाम्रै कारण अगाडि बढ्नेछ। नेपाललाई समाजवाद स्थापना गर्ने कसमका साथ यो पहिलो चरणको अभियान सम्पन्न गर्दैछौं। यो हाम्रो संकल्प पूरा नगरेसम्म हामीले यस्ता अभियान गर्दै जोनछौं। अहिले पानी जहाँज चलाउने कुरा गर्दैनौं। त्यो हावा कुरा हुन्छ। अहिले किसानलाई जोगाउनुपर्छ। हाम्रा युवाहरू मुलुकै बसेर कामगर्ने भए भने अहिलेभन्दा धेरै माथिको प्रगती गर्छौं यहि कुरा भनौं भनेर यो अभियान सुरुवात गरेका हौं।’
एकीकृत समाजवादी पार्टीले उठाएका एजेण्डाहरू देशका एजेण्डा भएको बताउँदै महासचिव भुसालले जारी अभियान ऐतिहासिक भएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘यो मुलुकमा रोजगारी सिर्जना हुनेछ भने हाम्रा मुद्धाका कारण हुनेछ। नेपाललाई समृद्धि र समाजवाद स्थापना नगरेसम्म एकीकृत समाजवादी पार्टी रोकिँदैन। यसरी नै जनताबीचमा आइरहन्छ।’