काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य अशेष घिमिरेले वर्गीय सुशासनका निम्ति समाजवादी जागरण अभियान सुरू गरिएको बताउनु भएको छ।
यहि असोज १४ गते झापाको काँकरभिट्टाबाट सुरू गरिएको अभियानको १४औं दिन कञ्चनपुरको पुनर्वासमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता घिमिरेले उक्त कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘हामीले चाहेको सुशासन वर्गीय सुशासन हो। यहाँ अधिकांश मान्छेहरूका लागि वर्तमान अवसथामा सुशासन छैन। छ त केवल केही सिमित मान्छेका निम्ति छ। अहिलेको रोजगार सिमित वर्गका लागि मात्रै हो। शिक्षा किन्नुपर्ने अवस्था रहेको बताउँदै नेता घिमिरेले आम जनताका लागि शिक्षा र स्वास्थ्य हुनुपर्छ भनेर अभियानले आह्वान गरिरहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘हाम्रो शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक हकका रुपमा परिभाषित गरेको छ। तर, हाम्रो देशको शिक्षा र स्वास्थ्य खरिद विक्रि भइरहेको छ।’
नेता घिमिरेले भन्नुभयो, 'मुठ्ठिभरका मानिसको लागि रोजगारी, समृद्धि, विकास छ। तर, आम मानिसलाई सास्ति छ। बेरोजगारी छ। यो दलाल पूँजीवादको कारण हो। हामीले भनेको रोजगारी, समृद्धि, सुशासान असली समाजवादीका निम्ति हो। चटकेहरूका लागि होइन। जो वर्गका कुरा गर्दैन। जो चटक मात्र देखाउछ। त्यसका निम्ति होइन। जोसँग वर्गीय चेतना छैन। नाटक र नौटङ्की गर्नेहरू आज हिरो बनिरहेका छन्। समाजवादका पक्षधरहरू निराशामा छन्। यो स्थिति बदल्नका लागि हामीहरू तपाईंको बीचमा आएका हौं।’
नेता घिमिरेले अगाडि भन्नुभयो, ‘वर्तमान अवस्थालाई बदल्नका निम्ति बलियो राजनीतिक शक्ति चाहिन्छ। हामीले ठूलो पार्टी बनाएको पनि हो। तर, त्यसको नेतृत्वले वर्ग त्याग्दै गएपछि हामीले विद्रोह गर्नुपर्यो। कम्युनिष्टको खोल ओढेर ढाँटको राजनीति गर्नेहरूबाट सचेत बन्नुपर्छ। राम्रो पार्टी भएन भने राम्रो मुद्धा उठ्दैन। आज दलाल पूँजीवादले जनताबीच को ठिक हो ? को वेठिक हो ? त्यो थाहा पाउने अवस्थासमेत छैन। सामाजिक सञ्जालबाट दिग्भ्रमित भइरहेका छौं। यो अभियान यस्ता भ्रमहरूलाई तोड्नलाई पनि हो। हाम्रो पार्टी दलालको कब्जामा होइन, जनताको मुठ्ठिमा रहने पार्टी हो।