काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले सुरू गरेको समाजवादी जागरण अभियान-२०८० को पाँचौ दिनसम्म आइपग्दा तीन हजार ६ सय १७ जना नेता कार्यकर्ताहरू पार्टीमा समाहित भएका छन्।
पार्टीले यही असोज १४ गते मेचिदेखि उक्त अभियान सञ्चालन गरेको हो। अभियानका क्रममा कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा एमाले, काँग्रेस, माओवादीलगायत पार्टीका साढे तीन हजार नेता कार्यकर्ताहरू एकीकृत समाजवादी पार्टीमा समाहित भएको पार्टी प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिनु भएको छ।
अभियाको पाँचौ दिन
समाजवादी जागरण अभियान २०८० को पाँचौ दिन रौतहटको चन्द्रपुरमा बिहान पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
पत्रकार भेटघाट कार्यक्रममा पार्टी अध्यक्ष माधव नेपालले देशको अर्थतन्त्रमा देखा परेको संकटको समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गर्नु भएको छ। साथै उहाँले जनजीविका, महंगी, अर्थतन्त्रमा देखा परेको संकटको समाधान गर्नका निम्ति एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको स्मरण गराउनु भएको छ।
साथै अध्यक्ष नेपालले क्रान्तिकारी एजेन्डा लिएर जनताको बीचमा आएको बताउँदै रोजगारी, सुशासन र सम्मृद्धिलाई मुख्य मुद्धा बनाएर समाजवादी जागरण अभियानमा जुटेको बताउनु भएको छ। उहाँले औद्योगिक विकास र मिटर ब्याज पीडितको पक्षमा पार्टी दृढ भएर लागि रहेको बताउनु भयो।
अभियानको पाँचौ दिनमा रौतहटको गौर, बाराको कलैया, विरगंज, जितपुर र सिमराका विभिन्न भागका सभाहरू भएका छन्।