काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सपना पूरा भएको स्पष्ट पार्नु भएको छ।
समाजवादी जागरण अभियान २०८० को दोस्रो दिन इटहरीमा आयोजित कोर्णसभालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले विभिन्न उतारचढाव पार गरेरै भएपनि पुष्पलालहरूले देखेको सपना पूरा गरेको बताउनु भएको हो।
उहाँले भन्नुभयो, ‘हाम्रा अग्रजहरूको सहि बाटोलाई अनुसरण गरेका थियौं। विभिन्न हण्डर ठक्कर खानु परेपनि, उतारचढाव पार गर्नु परेपनि, हजारौं सहिदहरूले बलिदान गर्नुपरे पनि हाम्रो देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएर छोड्यो। कमरेड पुष्पलालका सपना पूरा भयो। २०६२÷०६३ को आन्दोलन भनेको पूँजीवादी जनवादी क्रान्ति हो। उक्त क्रान्ति सम्पन्न भएको १८ वर्ष पूरा हुँदैछ। १० वर्ष लगाएर हामीले संविधान लेख्यौं ।’
सम्मानित नेता खनालले अगाडि भन्नुभयो, ‘त्यो संविधानअनुसार जुन आर्थिक, सामाजिक व्यवस्था, राजनीतिक र साँस्कृतिक व्यवस्था छ, यो आफैमा पूँजीवादी व्यवस्था हो। आजको लडाईं भनेको पूँजीवादीहरूसँग हो। राजावादीहरूबाट हामीले तर्सिनु पर्ने कुनै कारण छैन। तर, आजको प्रमुख लडाईं भनेको पूँजीवादीहरूसँग हो। पूँजीवादीहरूले आर्थिक, राजनीति, सामाजिक र सास्कृतिक पक्षलाई आफ्नो कब्जामा पार्न खोज्दैछ। राष्ट्रियता र अर्थतन्त्र दलाल पूँजीवादकै कारण खतरामा छ।’
उहाँले भन्नुभयो, ‘भ्रष्टाचार, अतिचार, दलाल पूँजीवादको अन्त्यको आवाज बोकेर एकीकृत समाजवादी पार्टीले समाजवादी जागरण अभियान सुरु गरेको छ। पूँजीवादको विकल्प एक मात्रै विकल्प वैज्ञानिक समाजवाद हो। त्यो वैज्ञानिक समाजवादी हासिल गर्ने लक्ष्य बोकेर हामी जनताको बीचमा आएका छौं।’