काठमाडौँ । सरकारले चाडपर्वमा यातायात व्यवस्था प्रभावकारी बनाउन यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा चाडपर्व यातायात सहजीकरण समिति बनाएको छ ।
शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरोकारवाला निकायहरुसँग छलफल गरी दसैँ–तिहार र छठ पर्व लक्षित यातायात व्यवस्था प्रभावकारी बनाउनको लागि चाडपर्व यातायात सहजीकरण समिति गठन गर्नुभएको हो । वर्षको दसैँ–तिहार र छठ पर्वमा गाउँ फर्कने र गाउँबाट सहर आउने यात्रुहरुको लागि यातायातका सवारी साधन, सडक तथा ट्राफिक व्यवस्था सहजीकरण गर्ने उदेश्यले समिति गठन गरीएको बताईएको छ ।
मन्त्री ज्वालाले दसैँ–तिहार र छठ पर्व लक्षित यातायात व्यवस्थापनमा पर्याप्त सवारी साधन, यात्रुलाई टिकटको उपलब्धता लगायतका विषयमा केन्द्रित रहेर काम गर्न निर्देशन दिनुभयो । समितिमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, प्रदेश सरकारको प्रतिनिधि, महानगर, उपभोक्ता कर्मी र सडक विभागको समेत प्रतिनिधित्व रहने बताउनु भयो । उहाँले समितिले यो वर्षको चाडपर्वमा व्यवस्थित र सुरक्षित यातायात सेवा बनाउने गरी काम गर्न निर्देशन दिनुभयो।
मन्त्री ज्वालाले सिंहदरबारमा बोलाएका कार्यक्रममा राज्यमन्त्री नन्दा चापागाईं, बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात व्यवसायी महासंघ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनका प्रतिनिधिहरू र काठमाडौं महानगरपालिकाको सहभागी रहेको थियो। दसैं, तिहार र छठ पर्वमा राजधानी काठमाडौंबाट बर्सेनि १० लाख यात्रुहरू बाहिरिने गरेका छन्।