पोखरा, बैशाख २४
पाँच दलिय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका साझा उमेदवार धनराज आचार्यले पोखरा नबन्नुमा अहिले सम्मको नेतृत्व जिम्मेवार रहेको बताउनु भएको छ ।
पोखराका विभिन्न वडाहरुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले प्रर्याप्त स्रोत र साधन हुदाँ हुदैपनि कुशल नेतृत्वको अभावमा पोखरा महानगर बन्न नसकेको बताउनु भएको हो ।
उमेदवार आचार्यले पोखरा महानगरमा अहिलेपनि भनसुनका आधारमा मात्रै काम हुने गरेकाले अब त्यो अवस्था सदाका लागि अन्त्य गर्ने प्रतिवद्धता जनाउनु भयो । आफु भुई मान्छेको पनि प्रतिनिधि भएकाले महानगरवासीलाई कसैको भनसुन बेगर काम गर्ने वातावरण तयार गर्ने बताउनु भयो ।
पोखरालाई स्वदेश तथा विदेशमा पर्यटकीय सहरको रुपमा चिनाउन पहल गर्ने बताउदै आचार्यले विजयी भएपछि पहिलो बैठकबाटै संघ र प्रदेश सरकारलाई पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सिफारिस गरिने विश्वास दिलाउनु भयो ।
महानगरको कार्यप्रणालीमा म भन्ने अवस्था बदलेर हामी भन्ने प्रद्धति स्थापित गर्ने बाचा समेत गर्नुभयो । महानगर भित्रै जातीय रुपमा विभेदका केही स्वरुप बाँकी रहेको उल्लेख गर्दै त्यसलाई हटाउन योजनावद्ध प्रयास गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
यस्तै उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले पछि थपिएका वडामा सडकहरुको स्तरोन्नति, पर्यटकीय संरचना निर्माण, कृषिको व्यवसायीकरण जस्ता सबालमा महानगरले सघाउने उल्लेख गर्नुभएको छ ।
उमेदवार रानाभाटले पोखरामा मुटुरोग अस्पताल निमार्ण कार्यको थलानी गर्ने, बगरमा रहेको संस्कृत माविलाई देशकै ऐतिहासिक संस्कृत भाषा विद्यालयको रुपमा विकास गरिने , महिला सशक्तिकरणमा जोड दिदै सुत्केरी महिलालाई ६ महिनासम्म सुत्केरी भत्ता र बालबालिकालाई पोषणभत्ताको व्यवस्थापन गर्ने प्रतिवध्दता जनाउनु भएको छ ।