लेखनाथ सिकारु
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा सुरु गरेको छ । आज संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा एक कार्यक्रमको आयोजना गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गर्नुभएको हो ।
द्रुत बस सेवाका बस भोलिदेखि सर्वसाधारण यात्रुको सेवामा रत्नपार्क सूर्यविनायक रुटमा चल्ने छन् । उदघाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाई बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर , मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा प्रारम्भ गर्नुभएको थियो ।
सार्वजनिक बसलाई रत्नपार्क सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ । माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।
द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमा मात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् । द्रुत बस सेवाको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले द्रुत बस सेवा रत्नपार्क- सूर्य विनायक सम्म मात्रै सीमित नरहने बताउनु भयो ।
उहाँले द्रुत बस सेवा सूर्यविनायक- रत्नपार्क रुटमा मात्रै सीमित नहुने भन्दै सरकारले एयरपोर्ट, रिङरोड, नागढुङ्गा, ललितपुर, बालाजु, महाराजगन्ज र चाबहिल क्षेत्रमा पनि बिस्तारै सेबा बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाउनु भयो ।
बिहान र बेलुका अफिस समयमा धेरै यात्रुको चाप हुने र धेरै बसहरूको आवश्यकतालाई ध्यानमा राखेर यात्रुहरूको सहजताको लागि बिहान- बेलुका दुई- दुई घण्टा द्रुत बस सेवा शुभारम्भ गरिएको भन्दै द्रुत बस सेवालाई सरकारले विस्तार मात्रै नभएर निरन्तरता दिने समेत बताउनु भयो । द्रुत बस सेवा सरकारले आज जुन उत्साहका साथ सुरु गरेको र त्यही उत्साह निरन्तर रूपमा सधैँको निम्ति रहने गरी यो कामलाई अगाडि बढाउने साथै सेवालाई सरकारले निरन्तर अनुगमन र फलोअप गर्दै जाने र कुनै पनि अवस्थामा अवरोध नपुग्ने गरी निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो । यातायात व्यवस्था विभाग, सडक विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघले द्रुत बस सेवा सञ्चालन गर्न थालेका हुन् ।
पहिलो चरणमा सूर्यविनायक- रत्नपार्क क्षेत्रमा २५ वटा ३९ भन्दा बढी सिट क्षमता भएका बसका लागि १९ वटा स्टप कायम गरिएको छ । ती स्टपमा यात्रुलाई झार्ने र चढाउने गरिनेछ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग ३९ भन्दा बढी सिट क्षमता भएका २५ वटा नयाँ बस उपलब्ध गराउनेबारे सम्झौता भइसकेको छ । बसमा अन्य सार्वजनिक बससरह नै भाडा लाग्नेछ । सडक विभागले द्रुत बस सञ्चालन गर्ने लेन नै छुट्याएको छ । भइरहेकै सडकको लेनमा मार्किङ तथा ठुल्ठूला अक्षरमा द्रुत बस गुड्ने लेनबारे जानकारी दिइनेछ ।
विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार तिनकुने - माइतीघर क्षेत्रमा सर्भिस लेनको देब्रे साइट, कोटेश्वर चोकआसपासमा मुख्य लेनको देब्रे साइट, कोटेश्वरदेखि जडीबुटी सम्म सर्भिस लेनको देब्रे साइट, जडीबुटीदेखि सूर्यविनायकसम्म मुख्य लेनको देब्रे साइट र माइतीघर- रत्नपार्क क्षेत्रमा मुख्य लेनको देब्रे साइटबाट द्रुत बस गुड्नेछन् । द्रुत बस जहाँ पायो त्यही रोकिनेछैन । यो बस अन्य सार्वजनिक सवारीसाधनका लागि बनाइएका सबै स्टपमा पनि नरोकीने बताईएको छ ।