काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हरितालिका तीजले समाजमा विद्यमान महिला विरुद्ध हुने सबै प्रकारका विभेद, हिंसा र अन्याय एवम् सबै प्रकारका असमानताहरूको अन्त्य गर्न सक्नुपर्ने बताउनु भएको छ ।
हरितालिका तीजको अवसरमा शुभकामना सन्देश मार्फत अध्यक्ष नेपालले समतामूलक र प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन चाडहरूले सबैलाई उत्प्रेरित गर्न सक्नुपर्ने बताउनु भएको छ ।
सन्देशमा मार्फत नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दै हिन्दु महिलाहरूले खुशी र उत्साहका साथ मनाउने हरितालिका तीजलाई महत्वपूर्ण पर्वका रुपमा मनाउने गरिएको छ । दिदी बहिनीहरू जमघट भएर मनाइने तीज र यससँगै जोडिएर मनाइने विविध सांस्कृतिक पर्वहरुले वर्ष भरीका पीर, व्यथा, हाँसो, खुसीलाई गीत, नृत्य र अभिनयका माध्यमबाट समाजमा पस्किदै मनोरञ्जन प्रदान गर्नुका साथै सचेतनता अभिवृद्धि गर्ने कार्य समेत गर्ने गरेका छन् ।
यसका साथै यी पर्वहरुले विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्ने कुरामा सहयोग पुर्याइरहेका छन् तर, पछिल्ला दिनमा तीज मनाउने क्रममा कतैकतै देखिने विकृती एवम् अन्धविश्वासहरुले मौलिकता भन्दापनि भड्किलोपन र देखावटी गर्ने प्रचलन बढेकोमा चिन्ता हुन थालेको छ । उक्त कुरालाई स्वीकार गर्दै पर्व भित्रका नकारात्मक पक्ष एवम् विकृतिहरुलाई हटाउन जरुरी छ सन्देशमा भनिएको छ ।
अन्त्यमा, हरितालिका तीज २०८० ले समाजमा विद्यमान महिला विरुद्ध हुने सबै प्रकारका विभेद, हिंसा र अन्याय एवम् सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक र प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा सहित पुनः शुभकामना व्यक्त गर्दछु नेता नेपालले भन्नुभएको छ ।