काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादी व्यवस्थाले मात्रै वर्गीय शोषण र अत्याचारको अन्त्यगर्ने दाबी गर्नुभएको छ।
शुक्रबार काठमाडौँमा अखिल नेपाल महिला संघ, समाजवादीको केन्द्रीय कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त दाबी गर्नु भएको हो।
उहाँले भन्नुभयो, ‘सबै प्रकारका शोषण, दमन, विभेद, अन्याय, अत्याचारलाई अन्त्य गर्ने विचारधारा नै समाजवादी विचारधारा हो। हाम्रो एक मात्र लक्ष्य वैज्ञानिक समाजवाद हो। यस विचारधारालाई बलियो बनाउँदै वर्तमान समयमा देखिएका उदण्डता र अराजकतालाई रोक्नुपर्छ।’
साथै उहाँले नेतृत्वले आवश्यकता अनुसारको काम गर्न नसक्दा जनता आक्रोशित बनेको बताउनु भएको छ। जनता नेतृत्वबाट काम नभएपछि विद्रोही हुँदै गएको र निराश भएको बताउनु भएको हो।
सिंहदरबारमा आगो लगाउँछु भन्ने बालेनहरूलाई जनताले साथ दिनु र स्याब्बासी दिँनुलाई राम्रो भन्न नसकिने भन्दै नेता खनाले प्रगतिशील जनताहरू सचेत रहनुपर्ने बताउनु भयो।
उहाँले भन्नुभयो,‘एउटा बालेन भन्ने छन्, उनले सिंहदरबारमा आगो लगाई दिने अपराधिक धम्कि दिएको सुनियो। त्यो अभिव्यक्ति अपराधिक छ। तर, यस्तो किने भयो ? हामीले कारण खोज्नुपर्छ। यसको खास कारण देशको नेतृत्व अकर्मण्यता हो। जो सुधार्न जरुरी छ।’
संगठनकी अध्यक्ष तथा पार्टीकी केन्द्रीय उपाध्यक्ष जयन्ती राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शान्ता मानवी, सुशिला श्रेष्ठ, पम्फा भुसाल, कमला पन्त, सावित्री भुसाललगायतले मन्तव्य राख्नु भएको थियो।