सप्तरी । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न आव्हान गर्नु भएको छ ।
सप्तरीको खडक नगरपालिका ५ स्थित खरचुइया बजारमा बिहीबार पार्टीको नगर समितिद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले पार्टी अब सुध्रिने अवस्थामा नरहेकोले तथा कम्युनिष्ट विचारकहरूको पार्टी नभएकोले इमानदार कार्यकर्ताहरू एमाले छाड्दै नेकपा एकीकृत समाजवादीले पार्टीमा आउने क्रम जारी रहेको बताउनु भयो ।
अध्यक्ष नेपालले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने दाबीका साथ सरकार विरोधी कुनै पनि भ्रमका पछाडि लाग्न आवश्यक नरहेको बताउनुभएको छ । उहाँले बडो मिहिनेतका साथ यो सरकार निर्माण भएकोले पाँच वर्षसम्म टिक्ने कुरामा कुनै शंका नलिन सबैमा आग्रह समेत गर्नु भो । नेता नेपालले सबै वर्ग समुदायका पक्षमा सरकारले काम गर्न आवश्यक रहेको बताउँदै विशेष गरी विपन्न, दलित, महिला, आदिवासी जनजातिका समस्या समाधानमा सरकारले बढी ध्यान दिनु पर्नेमा जोडदिनुभयो ।
मुलुकमा समाजवादी अभियानको आवश्यकता रहेको बताउँदै उनले त्यसकै लागि समाजवादी मोर्चा गठन गरिएको स्पष्ट पनि पारे । आगामी असोज १४ गतेबाट मेची महाकाली समाजवादी अभियान चलाइने उद्घोषका साथ नेता नेपालले जनजनमा यसको औचित्य र आवश्यकता स्थापित गर्न आवश्यक रहेको जिकिर गर्नुभयो ।
नगर समितिका अध्यक्ष बिजयकुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष धर्मनाथ साह, सचिव नागेन्द्र प्रसाद चौधरी, स्थायी कमिटी सदस्य रामप्रित पासवान, केन्द्रिय सदस्य एवं मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने समेतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि आएका नवप्रवेशीलाई प्रमुख अतिथि अध्यक्ष नेपालले फूलमाला लगाई स्वागत गर्नु भएको थियो । नेकपा एमालेका जिल्ला सदस्य एयुवराइन, बलराम चौधरी, लोसपाकाननु चौधरी कलवार, कांग्रेसका हासिम मियाँसहित हजारौं नेताकार्यकर्ता नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।