काठमाडौं । काठमाडौँको टोखाबाट नुवाकोटको शिवपुरी आवतजावत लागि निर्माण गर्न लागिएको ‘टोखा छहरे सुरुङ मार्ग’सरकारको राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनाका रूपमा अगाडि बढाइने भएको छ ।
उक्त सुरुङमार्गको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सुरु गर्न सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोलगायतले स्थलगत अवलोकन एवं निरीक्षण गर्नुभएको थियो ।
सुरुङमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा एक अर्ब २५ करोड विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक अध्ययन पूरा भइसकेकाले सम्भावित स्थानलाई केन्द्रित गरेर आयोजना निर्माणबाट लिनसक्ने लाभ र पुग्नसक्ने प्रभावको सम्बन्धमा इआइए गर्न लागिएको बताईएको छ ।
चीन सरकारको सहयोगमा यसअघि गरिएको सुरुङमार्गको प्रारम्भिक अध्ययनमा ‘उपयुक्त हुने’ देखिएकाले काम सुरु गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताउनु भयो । सुरुङ निर्माण गर्न काठमाडौँ तर्फ टोखा नगरपालिका वडा नं १ झोरमा दुईवटा बिन्दुको पहिचान गरिएको छ भने नुवाकोटतर्फ शिवपुरी गाउँपालिका वडा नं ७ र ८ मा तीनवटा बिन्दु सम्भावित देखिएका छन् ।
“थोरै लगानी र छोटो समयमा नै निर्माण गर्न सक्ने गरेर प्रारम्भिक अध्ययनमा देखिएकाले निर्माण सुरु गर्न लागिएको हो”, मन्त्री ज्वालाले भन्नुभयो , “मुख्य चुनौती लगानीको भएकाले आर्थिक स्रोतका लागि नेपाली टोलीको आसन्न चीन भ्रमणमा ‘टोखा-छहरे’सुरुङमार्गसहितसडकतर्फ सातवटा आयोजनामा सहयोग माग्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव तयार गरेको छ ।”
मन्त्रालयका मन्त्री, सचिव सहित नुवाकोटबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, विमला सुवेदी लगायतका सरोकारवालाबाट स्थलगत अवलोकन गरिएको हो । प्रारम्भिक अध्ययनको क्रममा सुरुङमार्ग निर्माणका लागि विभिन्न तीनवटा बिन्दुलाई केन्द्रित गरेर थप अध्ययन गर्न लागिएको छ । तीन दशमलव तीन, तीन दशमलव छ र चार दशमलव दुई किलोमिटर लम्बाइको हुनसक्ने अध्ययनमा देखिएको छ ।