चौतारा । चौतारा साागाचोकगढी नगरपालिकाले मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आइतबार नगरपालिकाको सभाहलमा शुभ अवसर ग्राम नेपालको सहजिकरणमा जबर्जस्ती करणी अपराधमा पीडित संरक्षण र समुदायको दायित्व तथा भूमिका विषयक अन्तरक्रिया गरेको हो । जिल्लाका सरोकारवाला सहितको कार्यक्रममा मानव बेचबिखनको बदलिदो स्वरुप र नियन्त्रणका प्रयासका विषयमा छलफल केन्द्रित रहेको थियो ।
कार्यक्रममा मानव बेचबिखन, यसको वर्तमान अवस्था, बेचबिखनका कारण, वैदेशिक रोजगार, स्थानान्तरण, मानव तस्करीमा सिन्धुपाल्चोकको अवस्थाको बारेमा अधिकारकर्मी तथा मेलम्ची नगरपालिकाको पूर्व उपप्रमुख भगवती नेपालले कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा देहव्यापारको रुपमा सुरु भएको बेचबिखन हाल बैदेशिक रोजगारीमा हुने ठगी र मानव तस्करीको अवस्थामा आइपुगेको सरोकारवालाहरूले औँल्याएका छन् । मावन बेचबिखन ( बैदेशिक रोजगारी, प्रलोभन, मावन तस्करी ) लाई रोकथामका कार्यक्रम स्थानीय सरकार र सहयोगी तथा साझेदारी रुपमा भैरहेको चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाले बताउनुभयो । ‘बेचबिखनलाई रोकथाम, बेचबिखनमा परेकाको उद्धार, पुनस्थापना र पुनर्मिलनको काममा सरोकारवाला लाग्नुपर्छ’, उपप्रमुख थापाले भन्नुभयो, ‘बलियो कानुन निर्माण, विभेदको अन्त्य, सुरक्षित वैदेशिक रोजगारी, गरिबीको न्यूनिकरण र चेतनामा अभिवृद्धिले बेचबिखनका समस्यास्यालाई न्यूनिकरण गर्न सकिन्छ ।’
कार्यक्रममा सहभागीहरुले स्थानीय सरकारले जनचेतना अभिवृद्धि, उद्धार तथा पुनस्थापना र पुनर्मिलनका कार्य गर्न सुझाव दिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख वालनरसिंह राणालगायत सरोकारवालाहरुले बेचबिखनको अवस्था र न्यूनिकरणका सवालमा धाराणा राख्नुभयो ।