काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चा निर्माण भएपछि एमालेहरू अतालिएको टिप्पणी गर्नु भएको छ।
बिहिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।
उहाँले भन्नुभयाे, 'समाजवादी मोर्चा बनेपछि विपक्षी (एमाले) हरुले सरकार ढल्छ कि ? भन्दै भ्रम छरिरहेको बताउँदै नेपालले मोर्चाले सत्तारुढ गठबन्धन दल कांग्रेसको मनमा चिसो नपसेको दाबी गर्नुभयो। ‘मोर्चा बनेपछि बरु,कांग्रेसको मनमा तातो पसेको छ, चिसो होइन। परिवर्तन नचाहने शक्तिहरुले भ्रम फैलाइरहेका छन्। ढुक्क हुनुहोस्, सरकार ढल्दैन।’
अध्यक्ष नेपालले भन्नु भएको छ,‘यो देशमा रहेका सबैखाले अन्याय, अत्याचार, शोषण, दमनहरूको अन्त्य गर्ने हो भने समाजवादी शक्तिहरू मिल्नुको विकल्प छैन। यहि उद्देश्य ध्यानमा राखेर हामीले निक्कै लामो छलफलपछि एउटा समाजवादी मोर्चा बनाउनुपर्छ भन्ने निष्कर्शमा पुगेका हौ। यस मोर्चाका बारेमा कतिपयलाई भ्रम पनि छ। एकतिर समाजवादी मोर्चा, अर्कोतिर सत्ता गठबन्धन। सत्ता गठबन्धनमा रहेको कांग्रेसको मनमा चिसो पसेको छ भनेर हल्ला फिजाउछन्। खासमा कांग्रेसको मनमा कुनै चिसो पसेको छैन। बरु हामीहरू एक ठाउँमा उभिएको देखेर न्यानो महसुस गरिरहेका छ।’
केन्द्रमा जस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि समाजवादी मोर्चाका नेता कार्यकर्ताहरुले एक अर्कालाई सम्मानका साथ सम्बन्ध विस्तार गर्न अध्यक्ष नेपालले निर्देशन दिनुभएको छ। एकले अर्कालाई अपमान गर्ने काम किमार्थ गर्न नहुनेमा अध्यक्ष नेपालको जोड छ।
एकले अर्काको कुरा सुन्ने, छलफल गर्ने, बहस गर्ने कामले समाजवादी मोर्चा बलियो बनाउने भन्दै अध्यक्ष नेपालले छिन्नभिन्न अवस्थामा रहनुपर्ने कुनै कारण नभएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘विचार मिल्यो भने, हाम्रा कार्यक्रम मिले भने भिन्न पसल थाप्नुपर्ने जरुरी छैन। हाम्रो चाहान अलग अलग पसल थाप्नु पनि छैन। सिंगो देशको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नेहो। हामीले सुरुवात गरेका छौं । अरुपनि आउन सक्नुहुन्छ। हामीले ढोका बन्द गरेका छैनौं।’
बिहिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको सिटी हलमा आयोजित उक्त सभामा आकर्षणको केन्द्रमा प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र विप्लव सी रहनु भएको थियो।त्यस्तै कार्यक्रमा मोर्चामा रहेको जनता समाजवादीको तर्फबाट केन्द्रीय कार्यकारी परिषद् समिति सदस्य प्रकाश अधिकारी हुनुहुन्थ्यो।