काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी बिस्तार हुँदै गएकोमा नेकपा एमाले आतङ्कित बनेको बताउनु भएको छ।
शनिबार काठमाडौँको आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित पार्टी पुनर्गठनको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीले आफ्नो राजनीतिक औचित्य पुष्टि गरेको दाबी गर्नुृ भएको छ।
उहाँले नेकपा एमालेप्रति इङ्गित गर्दै आफ्नो पार्टीको उपस्थिति राष्ट्रिय गठबन्धन, समाजवादी मोर्चालगायत जुन कुनै स्थानमा अनिवार्य, अपरिहार्य बनिरहेको हुनाले कतिपयको नीद हराम भएको भन्दै टिप्पणी गर्नु भएको छ। उहाँले आफूहरू विध्वंसक नभएकाले आतङ्कित नहुन आग्रहसमेत गरे।
उहाँले भन्नुभयो, ‘चाहे समाजवादी मोर्चा, चाहे राष्ट्रिय गठबन्धनको कुरा गरौँ, जुनसुकै ठाउँमा हाम्रो पार्टीको उपस्थिति अनिवार्य, अपरिहार्य बनिरहेको हुनाले कतिपयको नीद हराम भएको छ। हाम्रो पार्टीको विस्तार होला भनेर आतङ्कित पनि भएका छन्। ति आतङ्कित भएकाहरूलाई भन्न चाहन्छु धेरै आतङ्कित नहुनुस्, हामी विध्वंसक शत्रु होइनौँ, हामीलाई शत्रु ठान्नुपर्ने केही आवश्यकता छैन। हामी त शत्रु ठान्दैनौँ।'
अध्यक्ष नेपालले अगाडि भन्नुभयो, 'हामी तपाईँको गलत प्रवृत्तिलाई मात्रै इङ्गित गरिरहेका छौँ। सुधार गर्नुहोस्, तपाईँहरूको रवैयाले कम्युनिस्ट आन्दोलन ओरालो लागेको छ। तपाईँको रवैयाले नेपाली राजनीतिमा निराशा पैदा भएको छ, तपाईँको रवैयाले नै वास्तवमा जनतामा राजनीतिप्रति वितृष्ण बढिरहेको छ।’