काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज पनि बस्दैछ।
पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार ११ बजे सुरु हुनेछ। आइतबार आलोकनगरस्थित केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा २६ जना नेताहरूले आफ्ना विचार राख्नु भएको छ।
उमेश डागी, कृष्ण पन्त, कृष्ण खनाल, कृष्ण सापकोटा, गङ्गा नेपाल, गणेश बिके,गणेश काङ्वाङ्, गोपाल बराल,चन्द्र ब.शाही, चिरन्जिवी आचार्य, टहल ब खडका, दिनेश राई, दिलु पन्त, देउमान सम्बाहम्फे, देव शन्कर, धर्म निरौला,निरा जैरु, निर्मल सुबेदी, परमानन्द भट्ट, पी.एल.श्रेष्ठ,प्रभा बज्राचार्य, प्रमोद उपाध्याय, प्रेम नारायण पौडेल, प्रेमल खनाल, बलदेव चौधरी र बशन्त मानन्धरले बैकठमा आफुना कुराहरु राख्नु भएको हो।
वर्तमान राष्ट्रिय परिस्थिति, सङ्गठन सुदृढीकरणको रिपोर्टिङ, पार्टीको सैद्धान्तिक सवाल, सङ्गठनात्मक अवस्था, आन्तरिक समस्या, आगामी कार्ययोजना र नेतृत्वलाई सुझाव गरी मुख्य सात एजेण्डामा धारणा राखेको उहाँले बताउनुभयो।
पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकको प्रारम्भमा सम्बोधन गर्दै पार्टीको चुनौती सामना गर्दै अघि बढ्नुपर्ने बताउनुभयो।
उहाँले पार्टीको वैचारिक, साङ्गठनिक महत्वबारे बताउनुहुँदै राष्ट्रियताको रक्षा, संवर्द्धन, जनजीविकाको सवाल र समाजवादी बाटोमा अघि बढ्नुपर्ने भनाइ राख्नुभयो।
बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल जारीछ।
त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिनु भएको छ।