पोखरा,वैशाख २२
पोखरा महानगरपालिकामा ५ दलीय गठबन्धनका साझा उम्मेदवारले ग्रामीण भेगमा महानगरको आभास दिलाउने साझा प्रतिवध्दता सार्वजनिक गरेका छन् ।
गठवन्धनको तर्फवाट साझा घोषणपत्रमा सार्वजनिक स्थलहरुमा उच्च व्याण्डवीथ सहितको फ्रि वाइफाइ सञ्चालन गर्ने घोषणा गरेका छन् ।
गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले चुनावी घोषणापत्रमा महात्वपूर्ण सार्वजनिक स्थलहरुमा फ्रि वाइफाइ व्यवस्था गर्ने जनाएका हुन् । यस्तै पोखरालाई सूचना प्रविधिसम्बन्धी अध्ययन, अनुसन्धान र व्यावसायिक केन्द्र (साइबर सिटी) का रुपमा विकास गर्ने उनीहरुको योजना छ ।
महानगरभित्र ईन्टरनेट सेवा प्रदायकहरुसँग समन्वय गरि हाईस्पीड ईन्टरनेट सेवा प्रदान गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ । महानगरको पहलमा विजनेस ईन्क्युवेशन ल्याव खोल्ने योजना छ ।
देशकै ठूलो भूगोल भएको पोखरा महानगरमा गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी) वाट मेयरका उम्मेदवार धनराज आचार्य र नेपाली कांग्रेसवाट उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले महानगरका ग्रामीण क्षेत्रमा विकासको लहर ल्याउने प्रतिवद्धता गरेका छन् ।
प्रतिवध्दतामा ग्रामीण क्षेत्रका सडक पिच गर्ने, खानेपानीको उचित व्यवस्थ गर्ने, पर्यटकीय संरचना बनाउने, सम्पदा संरक्षण र प्रवद्र्धन गर्ने बताईएको छ । सहज सडक पहुँचबिना समृद्धिको कल्पना गर्न नसकिने घोषणपत्रमा उल्लेख छ ।
मेयर पदका उम्मेदवार आचार्य भन्नुहुन्छ, ‘अहिलेसम्म तपाईहरुलाई एमालेको सरकारले उपेक्षा गरिरह्यो । अब सही निर्णय गरी समृद्धि हासिल गर्ने बेला आएको छ ।
सिल्टेसन ड्याममा समेत ठूलो घोटला भएको आरोप गठबन्धनको छ । सिल्टेसन ड्याम बनाउँदा भएका कमी, कमजोरीलाई पत्ता लगाई समस्या समाधान गर्ने आचार्यले वाचा गर्नुभयो। फेवा किनारमा बस्ने स्थानीयको सुरक्षालाई ध्यान दिई ताल र सिमसार क्षेत्र संरक्षण गरिने समेत उद्घोष गरीएको छ ।
खानेपानी समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउने र कास्कीकोटको ऐतिहासिकतालाई जोगाउनका लागि
पर्यटन विकासकाका आवश्यक अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाई काम गर्ने उल्लेख गरिएको छ ।
पोखरा १८ को सराङकोटमा थप पूर्वाधार विकास आफूहरुको नेतृत्वमा मात्र सम्भव हुने गठबन्धनको दाबी छ । ‘सराङकोटको टावरलाई व्यवस्थित गरी पर्यटकका लागि थप आर्कषण थप्ने योजनासहित अगाडि बढ्ने, कास्कीकोटमा खानेपानी सहज व्यवस्था गर्ने, कोट, पोखरी र पाटनको सहर पोखराको मौलिकता जोगिने गरी आधुनिक महानगर बनाउने, कश्यमताल पोखरीमा बदलिएकाले यसको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिने, महानगरको भूगोल र आवश्यकता अनुसारका योजना बनाएर काम गर्ने जस्ता समुदाय तटहका योजनाहरु समेटीएको छ ।
घरमा शुद्ध खानेपानी, छोराछोरीलाई प्रभावकारी शिक्षा, स्वास्थ्य सेवा उपलब्धता लगायतका विकासका योजना समुदायको आवश्यकता भएको ठानिएको छ ।
चुनावी घोषणापत्रमा महानगरमा दक्ष जनशक्तिलाई स्थानीयस्तरमा परिचालन गर्नका लागि महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने,यस्तै स्थानीय स्रोत साधनको अधिकतम परिचालन गरि रोजगारीका अवसर सिर्जना गर्ने घोषणपत्रमा उल्लेख छ ।
आफूहरु निर्वाचित भएपछि मानव संसाधन विकाश केन्द्र स्थापना गर्ने, रोजगारीका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवप्रवर्तन र अनलाईन रोजगार जस्ता बजार सेवा प्रदान गर्न महानगरभित्र मानव संसाधन विकाश केन्द्र स्थापना गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
यसैगरी रेमिट्यान्स परिचालन गरी पूर्वाधार निर्माण र उद्यमशिलता प्रर्वद्धन गर्न विप्रेषण सदुपयोग कार्यक्रम सञ्चालन गर्ने, परम्परागत सीप र उपकरणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यावसायीकरण गर्ने ,साथै परियोजना धितोमा युवा व्यावसायीलाई १० लाखसम्म स्टार्ट अपका लागि ऋण लगानी गर्ने उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् ।
पोखरा महानगरमा सक्षम परियोजना सञ्चालन गरी ६ महिनामा ३ हजार रोजगारी थप गर्ने, भाषा, होटल म्यानेजमेन्ट, मोबाईल मर्मत, कृषि स्रोत व्याक्ति, जडीबुटी संकलन, व्युटीसियन, प्लम्बिङ, ईलेक्ट्रिसियन, भेटेरीनरी, ईम्ब्रोइडरी, ह्याण्डलुम, वेटर जस्ता धेरै क्षेत्रमा सीपसँगै रोजगारी र उद्यशिलतामा जोड दिने घोषणापत्र मार्फत प्रतिवद्धता जनाइएका छन् ।