वीरगंज । समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश समितिको बैठक बाँके जिल्लाको कोहलपुरमा बुधवार सम्पन्न भएको छ । बैठकले ५ बुँदे कोहलपुर घोषणापत्र जारी गरेको छ ।
समाजवादी प्रेस संगठन पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारितालाई आत्मसाथ गर्दै समुन्नत, समानतायुक्त र सभ्य समाज निर्माणका लागि पत्रकारिताको भूमिका बदलिँदै गरेको अवस्थामा, मिसन पत्रकारितालाई अगाडि बढाउनु पर्ने ठहर गरेको छ ।
नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण र नयाँ सदस्यता मापदण्डका सन्दर्भमा हाम्रो संगठन पूर्ण रुपमा कार्यान्वयनको पक्षमा रहको छ । तर, लुम्बिनी प्रदेशका केही जिल्लामा सांगठनिक पूर्वाग्रह राखेर कार्यान्वयन गरेको देखिएकोले त्यसलाई तुरुन्त सच्चाउन महासंघको ध्यानाकर्षण गराइएको छ ।
लुम्बिनी प्रदेशका विभिन्न सञ्चारमाध्यमा कार्यरत श्रमजिवी पत्रकारहरुलाई आर्थिक संकटको वाहनामा पारिश्रमिक नदिने, ‘फोर्स लिभ’ मा राख्ने, पूर्णकालीनबाट आंशिक बनाउने काम भएको गुनासो आएकोले सम्बन्धित सञ्चारमाध्यमलाई त्यसो नगर्न संगठनले सचेत गराएको छ ।
संघीय, प्रदेश र स्थानीय सरकारहरुले बनाउने सञ्चारसम्बन्धी ऐन नियमहरु सञ्चारमैत्री बनाउन र तीन तहका सञ्चार सम्बद्ध सरकारी नियुक्तिमा सबै संगठनको प्रतिनिधित्व र समावेशी नीति लागू गर्न माग पनि माग गरेको छ । साथै स्थानीय रुपमा सञ्चालनमा रहेका सञ्चारमाध्यमहरुलाई संरक्षण र प्रवर्द्धन गर्नका लागि मुख्य प्राथमिकतामा राख्न जोडदार रुपमा माग गरिएको छ ।
लुम्बिनी प्रदेश पर्यटकीय स्थलका हिसाबले प्रचुर सम्भावना बोकेको प्रदेश भएकोले प्रदेश सरकार सहित सरोकारवाला सबैलाई २०८० देखि ०९० सम्म ‘लुम्बिनी भ्रमण दशक’ का रुपमा मनाउने गरि नीति बनाउन र पत्रकार एवं सञ्चारमाध्यमहरुलाई समेत पर्यटनका मुद्दालाई उच्च प्राथमिकता दिन घोषणापत्र मार्फत माग गरिएको छ । बैठक अगाडि समाजवादी प्रेस संगठनको आयोजनामा रक्तदान कार्यक्रम गरिएको थियो ।
प्रदेश अध्यक्ष हृदय भुसालको अध्यक्षतामा भएको सो बैठकमा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेय, पार्टीका केन्द्रीय सदस्य अब्दुल हुसेन खान, संगठनका केन्द्रिय अध्यक्ष विश्वमणी सुवेदी लगायतका नेताहरुको उपस्थिति रहेको थियो