काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तइयोङका बीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरवार स्थित कृषि मन्त्रालयमा बुधबार भएको भेटघाटमा दुई देशबीचको सम्बन्धन एवं सहयोग अदान प्रदान बारेमा छलफल भएको छ । भेटमा दुई देश बिच १९७४ साल देखि कुटनैतिक सम्बन्ध रहँदै आएको र अहिले पनि त्यो सम्बन्ध सुमधुर रहेको मन्त्री भुसालले बताउनु भयो ।
कोरिया नेपालको घनिष्ट मित्र र भरपर्दो साझेदार रहेको बताउँदै मन्त्री भुसालले कोरियाले नेपालको आर्थिक- सामाजिक विकासमा महत्वपूर्ण सहयोग गरेको बताउनु भयो । ‘कोरियाले पहिलेका दिनहरूमा पनि नेपाललाई सहयोग गर्दै आएको छ । हामीबीच रहेको सम्बन्धन अझै बलियो बनाउँदै अगाडि पढ्नुपर्छ । अहिलेसम्म कोरियाले गरेको सहयोगका लागि हामी धन्यवाद व्यक्त गर्न चाहन्छौ’ मन्त्री भुसालले भेटका क्रममा भन्नुभयो ।
राजदूत तइयोङले कोरिया निक्कै गरिबीबाट अगाडि बढेको मुलुक भएको र त्यो बेला नेपालले कोरियालाई गरेको सहयोग स्मरण गर्दै ‘कोरिया निक्कै गरिबीबाट अगाडि बढेको मुलुक हो । हामीलाई त्यो बेलामा नेपालले सहयोग गरेको थियो र अहिले हामी दिन सक्ने अवस्थामा छौ, नेपालले मागेको सहयोग गर्न सक्ने अवस्थामा छौ । नेपालको आर्थिक विकासका लागि हामी सहयोग गर्न चाहन्छौं’ राजदूत तइयोङले भन्नुभयो ।
अहिले नेपाली कामदार कोरियामा ११ हजार भन्दा बढी कृषि पेशामा रहेको बताउँदै उहाँले अहिले जति श्रमिक कृषि पेशामा छन् १० वर्षपछि नेपालमा आएर कृषि पेसामा लाग्ने विश्वास व्यक्त गर्नुभयो । ‘हाम्रो मुलुकमा काम गरेर फर्किने श्रमिकले पैसा र सिप दुबै आर्जन गर्ने छन् र त्यो आफ्नो दक्षता नेपालको कृषि उत्पादनमा लगाउँने छन्’ राजदूततइयोङको भनाई थियो ।
आगामी नोभेम्बर सम्ममा कोरियाका कृषि मन्त्री नेपाल भ्रमण गर्ने बारेमा समेत मन्त्री भुसाल र राजदूत तइयोङका बीचमा छलफल भयो । सोही क्रममा मन्त्री भुसालले दुई देश बिचमा एउटा (एमओयू) तयार गरी अगाडि बढाउने प्रस्ताव समेत गर्नुभएको छ ।
जवाफमा राजदूततइयोङले कोरिया कृषिबाट नै अगाडि बढेकाले देश विकासमा कृषि क्षेत्रको ठुलो भुमिका रहेको बताउँदै कोरियाले नेपाललाई सहयोग गर्न चाहेको बताउनु भयो । कोरियाली मन्त्री नेपाल भ्रमण गर्नु भन्दा पहिले (एमओयू) तयार गर्ने र भ्रमणको बेला हस्ताक्षर हुने गरी अगाडि बढ्ने बताईएको छ ।