काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले एमालेले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने बताउनु भएको छ।
सरकारले भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा निर्मतापूर्वक काम गरेको भन्दै मन्त्री ज्वालाले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुको कुनै अर्थ नभएको बताउनु भएको हाे।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले कसैले भन्दैमा अहिलेको सरकार नढल्नेसमेत स्पष्ट पानुभयो। उहाँले वर्तमान सत्ता–गठबन्धन संसद्को पूरा अवधिसम्म कायमै रहने ठोकुवा गर्नुभएको छ।
उहाँले भन्नुभयो,‘अहिले राजीनामाको प्रशंग आउने गरिरहेको छ। एउटा कुरा त यो राजनीतिक स्टन्टबाजी पनि हुनसक्छ। अर्को पोलिटिकल कन्जम्पसनपनि हुनसक्छ। गठबन्धन बलियो हुँदासम्म र सरकारले शीर निहुराउने काम नगर्दासम्म कसैको दबाबमा राजीनामा दिनुपर्दैन। सरकारले एकातिर राम्रो काम पनि गरिहरेको छ,अनि राजीनामा पनि दिनुपर्ने? भ्रष्टाचारलीलाई कारबाही गरेको बेलामा अनि राजीनामा गर्ने? सुशासन कायम गर्नको लागि सरकारले यसरी काम गरिरहने,अनि राजीनामा दिनुपर्ने? यो कुरा मिलेन।’
नेकपा 'एकीकृत समाजवादी' का उपमहासचिवसमेत रहेका मन्त्री ज्वालाले सरकारले राम्रो गरिरहेको अवस्थामा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामाको प्रशंग आउनु नै गलत भएको बताउनु भयाे । उहाँले एक क्विन्टल सुन तस्करीबारे सीआईबीले छानबिन गरिरहेको उल्लेख गर्दै अनुसन्धान जरैसम्म पुग्ने र दोषीहरुमाथि कारबाही हुने विश्वास दिलाउनु भयाे।
यस्तै, ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको मन्त्री ज्वालाको दाबी छ । उहाँले आफू नेतृत्वको मन्त्रालयले भौतिक पूर्वाधार र यातायात दुवै क्षेत्रमा राम्रो काम गरेको सुनाउनु भयाे। मन्त्री ज्वालाले राम्रो कामको सुरुवात गरेको जानकारी दिनुभयाे। उहाँले यातायात व्यवस्थामा अस्तव्यस्तता रहेको स्विकार्दै सो क्षेत्रमा पनि सुधारका कार्यक्रम अघि बढाएको स्पष्ट पार्नु भयाे।