काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रालय एक्लैले विपद् व्यवस्थापन गर्न नसक्ने बताउनु भएको छ।
मंगलबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो। बैठकमा सांसदहरूले गत साउन ७ गते सामाखुशी खोलामा बाढीमा परी एक बालक बेपत्ता भएको घटनाबाट पाठ सिकेर त्यस क्षेत्रमा फेरी त्यस्तो घटना हुन नदिने गरी ढलसहितका आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका थिए।
जवाफमा मन्त्री ज्वालाले ती समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरूबीच छलफल गरेर अघि बढ्न सकिनेमा जोड दिनु भएको छ। मन्त्री ज्वालाले मन्त्रालयको क्षेत्राधिकारभित्र नपर्ने विषयमा एक्लै समस्याको समाधान गर्न नसकिने जिकिर गर्नुभयो।
मन्त्री ज्वालाले आफ्नो मन्त्रालयसँग सम्बन्धित पुल, सडकलगायतको समस्याबाट कुनैपनि खालको क्षति नहोस् भन्ने कुरामा भने सचेत रहेको स्पष्ट पार्नुभयो।
‘सडकसँग, पुलसँग अथवा हाम्रो मन्त्रालयसँग जोडिएका विपद्सँग सम्बन्धित विषयमा यो वर्षामा बाटोघाटो बन्द नहोस्। र मानवीय र अन्य क्षतिनहोस् भन्ने कुरामा हामी सचेत छौं’, उहाँले भन्नुभयो, ‘अरु विषयमा सम्बन्धित मन्त्रालयसँग पनि बसेर साझा निष्कर्ष निकालौं।’
‘यातायात व्यवस्था विभागले के गर्ने, सडक विभागले अर्को गर्नुपर्ला। ट्राफिकले गर्नुपर्ला। ५÷६ वटा निकायले काम बाँडफाँट गरेपछि काम अघि बढ्या छ। यो कुरामा एक्लै हाम्रो मन्त्रालय, जसको शुद्ध क्षेत्राधिकार पनि भएन। त्यसैले यही नै समाधान भनेर हामीले भन्ने अवस्था रहेन। त्यसैले समितिले यही रुपमा लिनुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु’, मन्त्री ज्वालाको भनाइ छ।
मन्त्री ज्वालाले वर्षातका कारण पूर्वका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएपछि आफ्नो मन्त्रालयले त्यसो हुन नदिनका लागि सक्दो प्रयास गरिरहेको दाबी गर्नु भएको छ। मुग्लिन–नारायणगढ सडक खण्डमा देखिएको समस्या फेरि नबल्झिने गरी समाधान गरिएको मन्त्री ज्वालाको दाबी छ।